हरिवन नगरपालिका–३ की २७ वर्षीया आशा कुमारी यादवको गर्भपतन गराएको कसुरमा हरिवन नगरपालिका–१ का ३९ वर्षीय मुकेश कुमार यादव, ३७ वर्षीय नथुनी यादव, ३९ वर्षीया राजकली देवी यादव, ३७ वर्षीया बिदिया यादव, ३४ वर्षीय मिथिलेश यादव र ३६ वर्षीय राजेन्द्र राय यादवलाई २०८० साउन ३२ गते दुई/दुई महिनाको कैद सजाय गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश कपि प्रसाद न्यौपानेको इजलासले आरोपित ६ जना मध्ये नथुनी यादव, मुकेश कुमार यादव र राजेन्द्र राय यादवलाई कसुर ठहर गर्दै दुई/दुई महिना कैद, तीन हजार रुपियाँ जरिवाना र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो । अर्का आरोपितहरू राजकली देवी यादव, बिदिया यादव र मिथिलेश यादवलाई दुई/दुई महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।
आरोपितहरूले २०७८ कात्तिक ७ गते कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय हरिवनमा मङ्सिर ९ गते उजुरी दिनु भएको थियो । पेटमा चोट लागेर रक्तस्राव हुन थालेपछि ०७८ मङ्सिर १४ गते जाँच गराउँदा चिकित्सकले गर्भपतन भएको पुष्टि गरेको थियो । प्रहरीले आरोपितहरूलाई मङ्सिर २९ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतमा पुस २३ गते अभियोजन पत्र दायर भएकोमा जिल्ला अदालतका न्यायाधीश कपि प्रसाद न्यौपानेको २०७९ जेठ २६ गतेको इजलासले आरोपितहरूलाई ३० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएको थियो ।