राज्यको नियन्त्रणमा जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा संलग्न भएको आरोपमा प्रहरी र कैदीमाथि अनुसन्धान सुरू गरिएको छ ।
कैदीको मृत्यु घटनामा आरोप लागेका कारागार सुरक्षा इञ्चार्ज असइ लक्ष्मी चौधरी र कारागारभित्र रहेका अरू कैदीसँग साउन ३० गतेदेखि अनुसन्धान सुरू गरिएको हो ।
कैदीको शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपी असइ चौधरीसहित १० जना प्रहरी र अन्य कैदीमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
असई चौधरीलाई साउन २८ गते गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको डिएसपी गोदारले बताउनु भयो ।
कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालतले यातना र ज्यानसम्बन्धी कसुरमा पक्राउ अनुमति दिएको छ ।
कारागारका सुरक्षाकर्मीको कुटपिटबाट सङ्खुवासभा, मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको ०८० साउन २४ गते बिहान ६ बजे मृत्यु भएको थियो ।
कारागारका निमित्त प्रमुख घिमिरेविरूद्ध पक्राउ पूर्जी जारी भएपनि घिमिरे सम्पर्कविहीन भएकाले गिरफ्तार गर्न नसकिएको प्रहरीले जनाएको छ ।
चौकीदारसहित नौ जना कैदीमाथि अनुसन्धान
कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको छ ।
कुटपिट घटनामा संलग्न भएको आरोपमा चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीमाथि अनुसन्धान भइरहेको डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो । आरोप लागेका नौ जना कैदीलाई साउन २४ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कैदीको कुटपिटबाट मृत्यु घटनामा चौकीदार कार्कीसहित कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारू, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिएको थियो ।
२५ जना क्षमताको भएको कारागारमा आठ जना महिलासहित १ सय ३६ जना कैदीबन्दी छन् ।
उक्त घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनालगत्तै गृह मन्त्रालयद्वारा साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन समितिले साउन २६ गतेदेखि साउन २९ गतेसम्म घटनाको अनुगमन गरी काठमाण्डौँ फर्किएको छ ।
सो घटनाका विषयमा इन्सेकले साउन २६ गतेदेखि साउन २८ गतेसम्म स्थलगत अनुगमन गरेको छ ।
इन्सेक अनुगमनका क्रममा कारागारभित्र सुरक्षाकर्मीले चरम यातना दिएको र त्यसपछि कैदीबन्दीले समेत थप यातना दिएका कारण दुई जना कैदीको मृत्यु भएको आधार भेटिएका छन् ।