सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग एक सातासम्म सुचारू हुन नसक्दा स्थानीयहरूले समस्या झेल्नु परेको छ ।
कैलाली जिल्ला गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा साउन २३ गते खसेको पहिरोले राजमार्ग भाँसिदा अवरूद्ध भएको खडक एक हप्ता बितिसक्दा समेत सुचारू हुन नसकेपछि जिल्लास्थित कृषकहरूले उत्पादन गरेको तरकारी कुहिन थालेको छ ।
पहिरोका कारण यातायातका साधन सुचारू नहुँदा धनगढीलगायतका बजार क्षेत्रमा पठाउन लागिएको काउली, बन्दा, गोलभेडा, भेडे खुर्सानी र मूला फिर्ता आएको र संकलन केन्द्रमा पनि कुहिन थालेपछि करिब १५ लाख रूपियाँ बराबरको तरकारीमा क्षति पुगेको स्थानीय कृषक खडकबहादुर ऐरले दुखेसो पोख्नु भयो ।

पहिरोले राजमार्ग भाँसियपछि यातायातका साधनहरू सञ्चालन हुन नसक्दा कृषकहरूको बारीमा गएर खरिद गरी ल्याइएको तरकारी तराईका जिल्लामा पुगाउन नसकिदा कुहिएर गएको तरकारी व्यावसायी सुरेश सार्कीले गुनासो गर्नु भयो ।
तीन तहका सरकार भएको भनिएता पनि एक हप्ता बितिसक्दा समेत अवरूद्ध सडक सुचारू गर्न नसकेका कारण किसानले बजारमा ल्याएको तरकारी निर्यात हुन नसक्दा कुहिन गएको र कृषकहरूले थप आर्थिक समस्या झेल्नु परेको अमरगढी नगरपाकिला–७ पोखरीबजारका तरकारी व्यावसायी भक्त साहुले गुनासो गर्नु भयो ।
दैनिक २० देखि ४० कुण्टेल तरकारी तराईका जिल्लामा निर्यात गरिदै आइएकोमा यातायातका साधानहरू सञ्चालन हुन नसकेपछि निगुरो, काउली, बन्दा, खुर्सानीलगायतका २० कुण्टेल तरकारी कुहिएकोले कृषकहरूको परिश्रम खेर गरेको उहाँले बताउनु भयो ।
स्थानीय कृषकहरूले उत्पादन गरका तरकारी बोकेर तराई झर्न लागेका ट्रकहरू एक हप्तासम्म बुढीतोला क्षेत्रमा रोकिएका कारण तरकारी कुहिएपछि खानीडाँडा र बुढीतोला क्षेत्रमा फाल्न बाध्य भएको ट्रक चालक दिपक भट्टले बताउनु भयो ।
डडेल्धुरामा एक दर्जन बढी तरकारीका होलसेल व्यापारी छन्। उनीहरूले दैनिक रूपमा करिब दुई सय कुण्टेल तरकारी तराईका जिल्ला निर्यात गर्दै आइरहेका थिए ।
उद्योग वाणिज्य संघ, डडेल्धुराका अध्यक्ष द्धिजराज भट्टले अन्य दैनिक उपभोग्य बस्तु तीन महिनालाई पुग्ने गरी व्यापारीको गोदाममा मौज्दात भए पनि एक सातादेखि तरकारीको व्यापार ठप्प भएकोले किसानहरू ठूलो मार्कामा पर्नु भएको बताउनु भयो ।

एक हप्ता बितिसक्दा समते अवरूद्ध सडक सुचारू नहुँदा जिल्लामा डिजेल र पेट्रोलको अभाव सृजना हुन गएको र स्थानीय यातायातका साधानहरू समेत बन्द हुँदा स्थानीय नागरिकहरूले थप समस्या झेल्नु परेको उग्रतारा सार्वजनिक यातायात प्रालीका अध्यक्ष मानबहादुर साउलले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सडक डिभिजन कार्यालयले अवरूद्ध भएको बाटो सुचारू गर्नका लागि काम गरिरहेको र आफूहरूले आवश्यक समन्वय र सहयोग गरिरहेको बताउनु भयो ।