जिल्लास्थित बालसुधार गृहको व्यवस्थापन हुन नसकेपछि सुधार गृहमा राखिएका बालकहरुलाई समस्या भएको छ ।
२५ जनाको क्षमता रहेको बालसुधार गृहको व्यवस्थापन हुन नसक्द क्षमता भन्दा बढी बालकहरुलाई सुधार गृहमा राखिएपछि समस्या उत्पन्न भएको हो । हाल बाल सुधार गृह, डोटीमा ४२ जना बालक राखिएको छ । सुधार गृहमा राखिएकाका मध्ये मुद्दाको फैसला भएका ३० र पुर्पक्षका लागि थुनामा राखिएका १२ जना रहेका छन ।
कोठा अभावका कारण एउटै कोठामा कोचिएर बस्नु पर्ने, सुत्नलाई समस्या हुने, शौचालयका लागि लाइनमा बस्नु पर्नेलगायतका समस्या रहेको पुर्पक्षका लागि थुनामा राखिएका एक जना बालकले गुनासो गर्नु भयो ।
१८ वर्ष मुनिका र १८ वर्ष पुरा भएका बालकहरुलाई छुट्टा छुट्टै राख्नु पर्ने कानुनी व्यवस्था भए पनि बालसुधार गृहको व्यवस्थापन हुन नसक्दा सबै उमेर समुहका बालकलाईसँगै राख्नु पर्ने बाध्यता रहेको सुधार गृहकी निमित्त प्रशासकीय प्रमुख सानो माया गुरुङ्गले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘खेल मैदान नहुँदा बालकहरुलाई खेल्न समस्या भएको छ । सवारी साधान नभएकाले बालकहरुलाई अदातल पुर्याउन तथा बिरामी हुँदा अस्पताल लैजान समस्या भएको छ । बालसुधार गृहमा स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि हालसम्म पदपुर्ति हुन सकेको छैन ।’
बालकहरुलाई पढाइका लागि जिल्ला सदरमुकाममा रहेको सरकारी विद्यालय पद्मा पब्लिक मुक्ति नारायण विद्यालयका शिक्षकहरुले विद्यालय समय भन्दा बाहेक पढाइ रहनु भएको उहाँले बताउनु भयो ।