अविरल वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको जनजिवन प्रभावित भएको छ । बाढीका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका सयौँ घरहरु डुबानमा परेका छन् भने पाहाडि जिल्लामा आएको बाढीपहिरोले दर्जनाैँ घरहरु जोखिममा रहेका छन् । तराईका कैलाली र कञ्चनपुर जिल्लाका बाढी प्रभावित क्षेत्रका बासीन्दाहरु विस्थापित हुन बाध्य भएका छन् ।
इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि शेबबहादुर भण्डारीका अनुसार साउन २३ गते राति परेको भारी वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लाको भित्रिमधेसका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाकाका विभिन्न क्षेत्रमा क्षति गरेको छ । वर्षाका कारण सुनखोलामा आएको बाढीले आलितालको गोदामबाहिरी सैन जोड्ने मोटरेबल पुलमा क्षति पुगेपछि ठूला सवारी साधान आवतजावत अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्नु परेका छ ।

भित्रमधेस क्षेत्रलाई जोड्ने बुडर–जोगबुडा सडक खण्डको सुनखोलामा आएको पहिरोले सडक भत्कीएपछि भित्रिमधेस क्षेत्रमा सडक सञ्जाल टुटेको छ । आलिताल गाउँपालिका–८ कै भंग्रेरी खोलालगायत अन्य खोलामा आएको बाढीका कारण सड्क भत्कीएको छ भने आलितालको घुम्ती बजारका केही घरहरू पनि जोखिममा परेका छन् । माथिबाट आएको सुनखोलाले बस्तीलाई जोखिममा पारेको हो ।
आलिताल गाउँपालिका–७ पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ । गएरातिको वर्षाले गाउँको छेउबाट बग्ने भालुखोला, कोइराले खोलामा बाढी आउँदा डाइनी गाउँमा ३५ परिवार उच्च जोखिममा रहेको महादेव माविका शिक्षक रमेश बोहराले बताउनु भयो ।
साउन २३ गते परेको अविरल वर्षाका कारण आलिताल–६ असलाडीका मोतिराम कुँवरको गोठ भत्किँदा एक हल गोरु, एक गाई र एक बाच्छो पुरिएर मृत्यु भएको छ । यसैगरी परशुराम नगरपालिका–१० बेल्डाङीका चन्द्रबहादुर बोहरा र इश्वरी बोहराको घर र सोही नगरपालिका–९ गाइबाधे, बझाङीजाला र उदासिपुरमा नाउला खोलाले खेतीयोग्य जमिन कटान गरेको वडाध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।

सानाठूला पहिरोले परशुराम नगरपालिकाभित्रका ग्रामीण सडकहरू अवरुद्ध रहेको स्थानीय भूपेन्द्र धामीले बताउनु भयो। ‘पुन्तुरा खोला उर्लेर आएको छ। केही ठाउँमा तटबन्ध भत्काएको छ’, उहाँले भन्नु भयो, ‘सडकहरू अवरुद्ध छन । डोजर प्रयोग गरेर सडक सञ्चालनमा ल्याउन नगरपालिकाले ध्यान दिनु पर्छ ।’ बाढीले परशुराम नगरपालिका–६ सरगौडा सिमलखेतमा बस्ती जोगाउनका लागि सिँचाइ कार्यालय, डडेल्धुराले निर्माण गरेको तारजाली तटबन्धमा क्षति गरेको धामीले बताउनु भयो ।
पुन्तुरा खोला उर्लिएर आएका कारण सादनी, चन्दनी, कुणाबाट जोगबुडा र डडेल्धुरा आउने गाडी परशुराम नगरपालिका–६ को सरगौडामै थन्किएका र एसईई ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरू पुन्तुरा खोलामा पुल नहुँदा जोखिम मोलेर तर्न बाध्य भएका देवकी जाग्रीले बताउनु भयो । पुन्तुरा खोलामा फसेका परशुराम नगरपालिक–४ का महेश भाट र तेज भाटलाई साउन २३ गते १२ बजे राति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपली सेनाले उद्धार गरेको थियो

इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीका अनुसार साउन २२ गते आएको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानीय तह गरी ८ सय बढी घर डुवानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीको तथ्याङ्क अनुसार घोडाघोडी नगरपािलका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका गरी ८ सय बढी घर डुवानमा परेको छन् ।
कैलारी गाउँपालिका—७ भुइयाफाँटाकी फुलकुमारी चौधरीले साउन २२ गतेदेखि घरमा बाढी पसेर भोकभोकै बस्नु पर्ने अवस्था रहेको भए पनि जनप्रतिनिधिहरुले हेरेर मात्र फर्केको बताउनु भयो । उहाँले भन्नु भयो— ‘छोराछोरी र सासुससुरालाई खाट टाँगेर माथी राखेका छौँ । अन्त जाने ठाँउ नै भएन । विद्यालयमा पढाई भइरहेकोले जाने अवस्था आएन । त्यसैले जसोतसो घरभित्रै बसेका छौँ । घरभित्रको सबै सामान डुबानमा परेको छ । छिमेकीहरुको हालत पनि मेरो जस्तै रहेको छ ।’

स्थानीय सुन्दरी चौधरीले घरमा बाढी पसेर खाद्यान्न र लत्ताकपडा सबै भिजेको बताउनु भयो । उहाँले घर भित्र र बाहिर पानी भएकाले खाना पकाउने ठाँउ नभएर पसलबाट चाउचाउ र बिस्कुट किनेर खाएको र जनप्रतिनिधिहरुले हेरेर मात्र फर्केको बताउनु भयो ।
स्थानीय लक्ष्मी परियारले दुई दिनदेखि घर भित्र पानी जमेर खान बस्न समस्या भए पनि स्थानीय सरकारल कुनै सहयोग नगरेको बताउनु भयो । उहाँले भन्नु भयो— ‘दुईतले कच्ची तथा पाँडवाला घर भएकाहरुले सामान माथिल्लो थलमा राखेका छन् । हामीजस्ताको सबै खाद्यान्न र कपडा भिजेको छ । दुई दिनदेखि भेकभोकै बसेका छाैँ । ’

कैलारी गाउँपालिका ७ का वडाध्यक्ष दिपेन्द्रबहादुर बमले बसन्ता, रामपुर र भुइयाफाटा गरी २ सय ५० घर डुवानमा परेको भए पनि सामान्य क्षति भएकाले घरभित्रै सुरक्षित बस्न आग्रह गरिएको र कार्यपालिकाको बैठक बसेर राहतको लागि पहल गर्ने बताउनु भयो । भजनी नगरपाकिा ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता बिक्रम चौधरीले तीन दिनदेखि निरन्तर रुपमा परेको पानीले नगरपालिकाका सबै वडा डुवानमा परेको हुँदा प्रभावितहरुलाई उच्चस्थानमा राख्ने र क्षतिको लगत सङ्कलन लिने काम भइरहेको बताउनु भयो ।
बाढी बढ्दै गइरहेकोले ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र सहयोगी संघसंस्थाबाट आएको राहत समाग्री एकद्वार प्रणालीमार्फत वितरण गरिने उहाँले जानकारी दिनु भयो ।
भारी वर्षाका कारण घोडाघोडी नगरपािलकामा १ सय ५०, जोशीपुर गाउँपालिकामा ५६, भजनी नगरपालिकामा ७ सय बढी र कैलारी गाउँपालिकामा २ सय ५० घर डुवानमा परेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । घरभित्र बाढी पसेर भौतिक संरचनामा सामान्य क्षती भएकाले कुन स्थानीय तहमा कति क्षति भएको भनेर यकिन विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनु भयो ।

गोदावरी नगरपालिका–४ बुढीतोलास्थित भिमदत्त राजमार्गमा पहिरोले सडक भासिएर दुई दिनदेखि आवतजावत बन्द भएकाले खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी गणेश बरालले बताउनु भयो । पहाडबाट आएको यात्रुहरुलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको र गोदावरी खोलामा आएको बाढीले नदीमा पसेका ६ जनाको सकुसल उद्यार गरिएको उहाँले जानकारी दिनु भयो ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि लिली कुँवरका अनुसार बाढीका महाकाली नदीमा आएको बढीका कारण माहाकाली क्षेत्र नजिक बसोबास गर्दै आएका स्थानीयहरुको जनजिवन कष्टकर बनेको छ । अविरल वर्षाका कारण खोला र नदीमा पानीको सतह बृद्धि भएपछि जोखिममा परेका चार महिलाको सशस्त्र प्रहरीले उद्दार गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले शुक्लाफाँटाले स्याली नदीको बिच टापुमा फसेका शुक्लाफाँटा नगरपालिका–७ की ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गोमती साउद, ओदाल खोलामा फसेका कृष्णपुर नगरपालिका–१ पहरियाका ३३ वर्षीया तारा भुल र २४ वर्षीया सिता भुलको उद्दार गरेको हो ।

उद्धार गरिएका चारै जनालाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीका सई कमलप्रसाद जोशीले बताउनु भयो । दोधा र मोहना नदी गाउँमा पस्दा १ सय ५० बढी घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले दोदा नदीको बाढी पुनर्वास नगरपालिका–५ सिमरी गाउँमा पसेपछि त्यस क्षेत्रका ५० घर र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका–७ शान्तिगाउँमा पस्दा ६० घर डुबानमा परेको बताउनु भयो । बाढीका कारण प्रभावित भएकाहरुको तथ्याङ्क संकलन तथा उद्धारको कार्य पनि भइरहेको उहाँले जानकारी दिनु भयो ।
