त्रिपुरासुन्दरी गाउँपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका भरीका १४ सय गाई र गोरुमा लम्पी स्किन रोग लागेर बिरामी परेका थिए भने कतिपय गाई गोरुहरू मरेका थिए ।
‘लम्पी स्किन रोगको समयमा उपचार नहुँदा किसानलाई धान खेती लगाउन समस्या‘ शीर्षकमा इन्सेक अनलाइनमा साउन १० गते समाचार प्रकाशन भएको थियो । सोही समाचारको प्रभावले त्रिपुरा सुन्दरी गाउँपालिकाले बिरामी पशुहरूमा लम्पी स्किन रोगविरूद्धको खोप लगाउन शुरु गरेको त्रिपुरा सुन्दरी गाउँपालिका प्रवक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो ।
रोगी पशुहरूबाट अन्य पशुहरूमा रोग नफैलियोस भन्ने उदेश्यले गाउँपालिकाले खोप अभियान शुरु गरेको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनु भयो । खोप अभियान सञ्चालन गर्न गाउँपालिकाभरी दुई जना कृषि प्राविधिकहरू खटिएको अध्यक्ष बोहराले जानकारी दिनुभयो ।
पशुहरूमा लम्पी स्किन रोग लागेको कारणले यस वर्ष किसानहरूले गोरुहरूबाट धान खेती लगाउन नपाएको कारण उनिहरूको धेरै जग्गा बाँझै छ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा खोप अभियान शुरु भएता पनि जिल्लाका अरु बाँकी स्थानीय तहहरूमा भने लम्पी स्किन रोगविरूद्धको खोप अभियान शुरु हुन बाँकी छ । अन्य स्थानीय तहहरूमा भने पशुहरूको थप क्षति हुने सम्भावना भएको जिल्ला समन्वय समितिका उपप्रमख पदमनाथ नेपालले बताउनु भयो ।
