राजबिराज नगरपालिका–६ का इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले साउन १५ गते कुटपिट गरेको घटनाको विरुद्धमा सिरहाका अधिकारकर्मीहरूले प्रेस विज्ञप्ति मार्फत साउन १६ गते दोषीलाई कारबाहीको माग गरेका छन् ।
इन्सेक सिरहा, मानवअधिकार रक्षक संजाल सिरहा, महिला मानवअधिकार रक्षक संजाल सिरहा, महिला पुनर्स्थापना केन्द्र (ओरेक) सिरहा, समग्र जन उत्थान केन्द्र सिरहा, एमनेष्टी नेपाल सिरहा, मुक्ति नेपाल गोलबजार, दलित जन कल्याण युवा क्लव लहान, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सिरहा र जीवन ज्योती समाज सिरहाले संयुक्त विज्ञप्ति प्रकाशित गरेको हो ।
विज्ञप्तिमा पीडितको न्यायको लागि साउन १५ गते जिल्ला प्रहरी कार्यालयम सप्तरी पुगेका इन्सेक प्रतिनिधि मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालय सप्तरीका नागरिक सहायता कक्षमा कार्यरत असई राजेश्वर महतोले कुटपिट गरेको घटना प्रति मानवअधिकार रक्षक संजाल सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ ।
मानवअधिकारको संरक्षण र संवर्द्धनमा अहोरात्र खटिरहने मानवअधिकार रक्षकहरू माथि यस्ता घटना हुनु भनेको लोकतन्त्रमाथिको प्रश्न हो । मानवअधिकारको संरक्षण र संवर्द्धन राज्यको दायित्व हो । तसर्थ यसका लागि मानवअधिकार रक्षकहरूबाट नै सुरक्षित वातावरणमा मानवअधिकार उलंघनका घटनामा आवाज उठाउन पाउने वातावरण निर्माणका लागि अधिकारको नयाँ क्रान्ती शुरु हुनु अवश्यकछ । अन्यथा मानवता, मानवअधिकार, सामाजिक न्याय, विधिको शासन र लोकतन्त्र स्थापित हुन सक्दैन ।
मानवअधिकार रक्षकहरूको कामको मान्यता, पहिचान र सम्मान हुने वातावरण निर्माण सरकारको दायित्व हो । तसर्थ हिंसात्मक गतिविधिको नियन्त्रण गर्न र यस्ता प्रकृतिका मानवअधिकार हनन्का घटनामा संलग्नलाई यथाशिघ्र गिरफ्तार गरी कानूनी कारबाही गर्न र आगामी दिनमा यस्ता गतिविधिहरू नदोहोरिने वातावरणको सृजनाका लागि हामी जोडदार माग गर्दछौं । अन्यथा मानवअधिरकारको संरक्षण र संवर्द्धनका लागि मानवअधिकारकर्मीहरु सडकमा उत्रिन बाध्यहुने उल्लेख छ ।