
राजबिराज नगरपालिका–६ का इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले साउन १५ गते कुटपिट गरेको घटनाको अनुगमन राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालय र इन्सेकले साउन १६ गते गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयकी प्रमुख मञ्जु खतिवडा, मानवअधिकार अधिकृत रेखा दत्त, इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, सिरहा जिल्ला इन्सेक प्रतिनिधि दुर्गा परियारले संयूक्तरुपमा पीडित लगायत प्रमुख जिल्ला अधिकारी र एसपीहरू सँग भेटघाट गरेको हो ।
अनुगमनको क्रममा पीडित पोखरेलले पीडितको न्यायको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडितको गुनासो बुझ्न जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कुमार कार्कीलाई साउन १५ गते भेटी उहाँकै अनुमतीले फाटमा आएर पीडितको काम गर्दै गर्दा धनुषा जिल्ला मिथिला नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा नागरिक सहायता कक्षमा कार्यरत असई राजेश्वर महतोले दुर्व्यवहार सहित मुक्का र बुटले आफूलाई कुटपिट गरेको बताउनु भयो । नागरिक सहायता कक्षमा मसँग असई महतोले दुर्व्यवहार र गालि गलौच गरी भित्र गएर पुनः बाहिर आई अचानक मुक्का र बुटले आफूलाई प्रहार गरेको अन्य प्रहरीहरूले छाडदिन भन्दा पनि म ठिक पार्छु भन्दै कुटपिट गरेको बताउनु भयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सेवा दिने कार्यालयहरूमा बिचौलियाहरूको प्रवेशलाई रोक्न सबैलाई निर्देशन दिएको र सोही अनुसार प्रहरीहरूले अनावश्यक मान्छेहरूको भिडलाई नियन्त्रण गर्न अधिकारकर्मी माथी घटना हुन पुगेको हो, घटनामा संलग्न प्रहरीलाई उनको पनि कुरा सुनि कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।
घटना भएको दिन इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल म कहाँ आउनु भयो, भर्चुअल बैठकमा कुरा गर्दै गरेको हुँनाले मैले नै उहाँलाई फाटमा जान भनेको थिए एसपी नरेन्द्र कुमार कार्कीले बताउनु भयो । घटनाको जानकारी पाएर सोको सम्बन्धमा बुझ्दा असईले मलाई पोखरेलले अप शब्द प्रयोग गरेर गालि गरे पछि घटना भएको भन्ने बुझे पनि असईलाई निलम्बन गर्न प्रदेश कार्यालयमा पत्राचार गरेको तर, डिआजी सर नभएकोले प्रक्रिया रोकिएपनि उहाँ आउने बितिकै निलम्बन हुने एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिनु भयो । असई मान्छे सोझै हो तर घटना भए छ, तत्कालनै मैले कार्यालयको तर्फबाट माफि मागेको र डिएसपी नरेश बहादुर सिहंको नेतृत्वमा पाँच दिन भित्र प्रतिवेदन दिने गरी छानविन समिति बनाएको बताउनु भयो ।
राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयकी प्रमुख मञ्जु खतिवडाले मनोहरकुमार पाखरेल मानवअधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत चिरपरिचित अधिकारकर्मी हुनुहुन्छ, उहाँ माथि भएको घटना निन्दनीय छ । आयोगको ध्यानाकर्षण भएको छ बिगत केही महिना देखि मधेस प्रदेशमा प्रहरी अराजक भई रहेको मेरो नोटिसमा छ । घटनाको अनुगमन ग¥यौ पीडित पोखरेलमाथि प्रहरीको असईले कुटपिट गरेको हो । एसपीले आन्तरिक छानविन समिति बनाउनु भएको छ । त्यो प्रतिवेदन पनि हामी हेर्छाै र कार्यालयको तर्फबाट दोषीलाई कारबाहीको सिफारिस गर्छौ ।
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले घटनाको जानकारी हुनासाथ हामीले बिज्ञप्ती प्रकाशित गरी मानवअधिकार आयोगलाई लिएर घटना छानविनको लागि गएका छौं । आरोपितलाई कानून बमोजिम कारबाहीको लागि इन्सेक प्रदेश कार्यालयले पहल गर्ने र मानवअधिकार रक्षकहरूको सवालमा तयार पारिको कानूनको ड्राफ्ट उपर प्रदेशमा मुख्य मन्त्री र महान्याधिवक्तालाई भेटि कानून निर्माणको लागि पहल गर्ने बताउनु भयो ।
