INSEC Online

📅 २०८३ जेष्ठ २१

नुन नपाएपछि डिपो कार्यालयमा तोडफोड

चन्दननाथ नगरपालिका – १ विमानस्थल नजिक साल्ट ट्रेडिङको कार्यालयमा सयौँको संख्यामा नागरिक असार ३१ गते नुन लिन आएका थिए । उनीहरुले नुन नै नपाएपछि ढुंगामुडा गरेर कार्यालय नै तोडफोड गरेका हुन् ।

साल्ट ट्रेडिङको कार्यालय अगाडिको प्राङ्गणमा पुगेका धेरैले नुन पाएनन् । नुन पाउन सहज नबनेपछि भिड आक्रोश बन्यो । नुन लिन गएका अधिकांशले पर्खालबाट आ–आफ्ना मान्छे घुस्न थालेपछि आक्रोश पैदा भएको बुझिन्छ । जसबाट अनियन्त्रित भिडले पक्षपात भएको हल्ला फैलाउँदै गयो ।आक्रोशित भिडले धकलमकल गर्दै ढोका फोड्यो । सबै भित्र छिरे । स्थिति निकै तनावपूर्ण भएपछि नुन साउन ५ गते मात्रै वितरण गर्न सकिने सूचना आयो । तर त्यसको केही समय पछि पुनः नुन वितरण गर्न थालियो ।

त्यतिञ्जेल सशस्त्र प्रहरी त्यहाँ पुगिसकेको थियो । एकछिन शान्त भएको भिड आक्रोसित बन्यो अनि तोडफाड सुरु भएर डिपोका सबै ढोका फोडिए । ‘कसैले नुन बोकेर भागे । केही भिडबाट फुत्किन नसकेर अल्झिए’, पुष्कर रोकायाले भन्नुभयो, ‘त्यहीबेला सुरक्षाकर्मी र नुन लिन आएको नागरिकलाई सामान्य चोटपटक लाग्यो ।

नुनको अभाव हुने र आफूले चाहेजति नपाउने भएपछि धेरैजसो स्थानीयहरु नुन वितरण गर्ने दिन लाइन लाग्न जान्छन् । तर स्थानीयले सोचेजस्तो नुनको अभाव नभएको साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताउनु भयो ।

अलि अगाडि हामीसँग नुनको मौज्दात कमै मात्रामा थियो । त्यसैले प्रतिव्यक्ति ३ किलो मात्रै नुन वितरण गरिरहेका छौं’, उहाँले भन्नुभयोे, ‘तर असार ३१ पछि प्रतिव्यक्ति पाँच किलो नुन दिने निर्णय गरेका थियौंँ । त्यही दिनै लफडा भयो ।’

उहाँका अनुसार सुरुमा लाइन व्यवस्थित नै थियो । पछि केही रक्सी सेवन गरेकाहरू बीचमा घुसेर अगाडि छिर्न थालेपछि भिडलाई उत्तेजित बनायो । ‘म हिजो सिंजा गएको थिएँ । पछि कर्मचारी र प्रहरीसँग बुझ्दा उहाँहरूले त्यही सुनाउनुभयो’, उहाँले भन्नुभयो ।

जुम्लाका तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातरासी पाँचवटा पालिकाको लागि जुम्ला विमानस्थल नजिकको डिपोबाटा नुन वितरण हुँदै आएको छ । जसका लागि वार्षिक ६ हजार क्विन्टल नुन चाहिन्छ । तर अघिल्लो आर्थिक वर्षमा २५ सय क्विन्टलमात्रै हुँदा चाहिए जति नुन दिन नसकिएको प्रमुख मल्लले बताए । ‘अहिले भर्खरै दुई हजार ८० क्विन्टल नुन थपिएपछि अभाव छैन । उहाँले भन्नुभयो, ‘अगामी आर्थिक वर्षका लागि पनि तीन हजार क्वीन्टलको लागि टेन्डर भइसकेको छ । नुनको अभाव छैन ।’

Photo20230718Jumla

अन्य

भिडियो