INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी अस्पतालमा शैया अभाव, उपचारमा समस्या

सरकारीस्तरमा कोशी प्रदेशकै ठूलो सरकारी अस्पताल, कोशी अस्पतालमा शैया अभाव हुँदा उपचारमा समस्या भएको छ ।

शैया अभावका कारण कोशी अस्पताल, विराटनगरमा आकस्मिक कक्षका बिरामीलाई झ्यालमा राखेर उपचार गर्नुपर्ने वाध्यता छ ।

Photo 20230717 Morang (2)

४० शैया भएको आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीलाई अस्पतालमा शैया नभएपछि झ्यालमै राखेर उपचार गर्नु पर्ने वाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सर्पदंश(सर्पले डसेर) उपचारका लागि कोशी अस्पतालमा भर्ना हुनु भएका विराटनगर महानगरपालिका–३ का ७० वर्षीय हेमराज मगरले आकस्मिक कक्षमा शैया अभाव भएपछि झ्यालमै बसेर उपचार गराउनु पर्ने अवस्था रहेको बताउनु भयो । झ्यालमा साँघुरो ठाउँ भएका कारण बस्न, अडेस लाग्नसमेत अफ्ठ्यारो भएको मगरले बताउनु भयो । उहाँले भन्नुभयो ‘झ्यालमा राखिएका कारण उपचारका क्रममा लडिने हो कि भन्ने चिन्ता भइरहन्छ ।’

जहदा गाउँपालिका–४ की २१ वर्षीया जानुकाकुमारी ऋषिदेवलाई ०८० असार ३१ गते सर्पले टोकेपछि उहाँलाई दिउँसो १ बजे आफन्तले कोशी अस्पताल आए । अस्पतालको आकस्मिक विभागमा शैया भएपछि उहाँलाई झ्यालमै राखेर उपचार सुरू गरिएको छ । हाल उहाँको उपचार जारी छ ।

आकस्मिक कक्षमा भर्ना हुन आएका बिरामीलाई शैया अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मीहरूले भर्ना भएका बिरामीलाई एउटै शैयामा दुई जना, झ्याल, ट्रली, र स्ट्रेचरमा राखेर उपचार गर्नु परेको छ ।

कोशीको अस्पतालको आकस्मिक कक्षको क्षमता ४० शैयाको छ । ४० शैयामा प्राय: भरिभराउने हुने गरेको छ । ३ सय ५० शैयाको कोशी अस्पतालमा मेडिकल वार्डमा ३२ शैया, आइसीयूमा १२ शैया र एचडीयूमा पाँच शैया रहेको छ । ‘आकस्मिक कक्ष, आइसीयू, मेडिकल वार्ड र एचडीयूमा थप शैया आवश्यक रहेको अस्पताल प्रशासनले जनाएको छ ।

कोशी अस्पतालमा दैनिक १ हजारदेखि १ हजार ५ सय जना बिरामीले ओपीडी र आकस्मिक कक्षमा सेवा लिने गरेका छन् । करिब १ सयदेखि १ सय ५० जना बिरामी भर्ना हुने किसिमका हुने गरेका छन् ।

अस्पताल भर्ना भएका बिरामीले शैया नपाएपछि झ्याल र चिसो भुइँमा उपचार गराउनुपर्ने अवस्था रहेको छ । ‘सरकारी अस्पताल कोशी अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा झन बिरामी भइन्छ जस्तो भइयो,’ झ्यालमा बसेर उपचार गराइरहनु भएका ७० वर्षीय हेमराज मगरले भन्नुभयो ‘ शैयामा बसेर उपचार पाए शरीरलाई पनि आराम हुने थियो । यहाँ झ्यालमा बसेर उपचार गर्दा शरीरलाई पूरा सास्ती भएको छ ।

बर्खाको समयमा कोशी अस्पतालको अकस्मिक कक्षमा सर्पले डसेको, ज्वरो, डायरिया, पेट र किड्नीमा समस्या भएका बिरामी धेरै आउने अस्पतालको विरामी रेकर्ड फायलमा देखिएको छ ।

उपचारका लागि अस्पताल आएकामध्ये शैया भरिएपछि झ्यालमा बसेर उपचार गर्दा पीडादायी अवस्था  भएको कोशी अस्पतालका आकस्मिक कक्षका इञ्चार्ज गजेन्द्रप्रसाद यादवले बताउनु भयो । उहाँले भन्नुभयो– कोशीमा आउने धेरैजसो बिरामी आर्थिक रूपमा विपन्न र कमजोर हुन्छन् । ‘आएका जति बिरामीलाई उपचार गराउनु हाम्रो दायित्व र जिम्मेवारी हो । यादवले भन्नुभयो–आकस्मिक कक्षमा भएका शैया भरिएपछि आएका बिरामीलाई बाध्य भएर झ्याल र एउटा बेडमा दुई जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था हामीलाई छ ।

Photo 20230717 Morang (3)

कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेण्टन डाक्टर चन्द्र झाले जनशक्ति कमीका कारणले समस्या आएको बताउनु भयो । ‘अहिले एक जना स्वास्थ्यकर्मीले ३० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो ‘जनशक्ति थप गरेपछि शैया विस्तार गर्ने योजना छ । केही दिनभित्रमा नै समस्याको हल हुनेछ ।’

अस्पतालको विकास समिति नयाँ नियुक्ति भएर आएकोले केही दिन भित्रमा बैठक बसेर जनशक्ति थप गरी समस्याको समाधान गरिने मेसु झाको भनाइ छ ।

नेपालको संविधान २०७२ ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

अन्य

भिडियो