
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक अनिता चौधरीले जिल्ला कारागारको अनुगमन असार २९ गते गरेको छ ।
१५ महिला र १ सय ३५ पुरुष गरी जम्मा १ सय ५० जनाको क्षमता भएको पुरानो र जिर्ण अवस्थाको कारागारमा ६ सय १ जना थुनुवा असार २९ गते सम्म रहेको थियो । कारागार प्रमुख भवेश झाले पुरानो कारागार भएको र जग्गा प्रसस्त हुँदा हुँदै पनि सरकारले बजेट नदिएर नयाँ निर्माण वा मर्मत गर्न नसकिएको बताउनु भयो । पहिले भन्दा सेवा सुबिधा बढी भएको कारागारमा थुनुवाहरूको लागि ७ सय ग्राम चामल, आठ रुपियाँ तरकारी खर्च, र वर्षमा दुई पटक मासु खान ७ सय ७० रुपियाँ दिने गरेको झाले बताउनु भयो । ११ थुनुवा महिला, १३ कैदी महिला र २ जना आश्रित बालबालिका रहेको कारागारमा महिला कोठामा भित्रै शौचालय, खाने पानी र किचन अनि ठूलो हल भएको बताउनु भयो । महिलाहरूको लागि समय समयमा सीपमुलक तालिमको व्यवस्था गरिदिन इन्सेक र ओरेकसँग आग्रह गर्नु भएको झाले यस वर्ष बिरामी भई एक जना कैदीको मृत्यु भएको पनि बताउनु भयो । केही दिनमा कारागारमा रौतहटबाट एकजना कैदी आउन लागेकोले उनलाई आउन नदिन कारागारमा कैदी बन्दीहरूले बेला बेलामा आन्दोलन गर्ने गरेको बताउनु भयो । वर्षामा कोठा भित्र पानी नपसे पनि बाहिर पानी जम्ने झाले बताउनु भयो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले महिलाहरूको सीपमुलक तालिमको लागि स्थानीय तहहरूसँग समन्वय गरी व्यवस्थापन गर्ने बताउनु भयो ।