१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार र ३८ वर्षीया महिलालाई बलात्कार प्रयाससँगै ज्यान मार्ने प्रयास गरेको कसुरमा ताराखोला गाउँपालिका–४ का ३४ वर्षीय प्रेमबहादुर दर्जी र २० वर्षीय सागर नेपालाीलाई जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ। यौन दुर्व्यवहार र बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै न्यायाधीश दिवाकर भट्टको असार २५ गतेको इजलासले कैदसँगै जनही ४ लाख रुपियाँ क्षतिपुर्तिको सजाय फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
बलात्कार प्रयास कसुर ठहर भएपनि प्रेमबहादुर र सागरले ज्यान मार्ने कसुरबाट भने सफाई पाएका छन् । ०७९ जेठ १४ गते बालिका र महिलालाई पेय पदार्थमा नसालु पदार्थ मिसाएर यौन दुर्व्यवहार र बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो । प्रहरीले आरोपितविरुद्ध ०७९ असार १३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग तथा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेको थियो ।
पीडितद्वयको स्वास्थ्य परीक्षण जेठ २० गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो । जिल्ला अदालत बागलुङको असार १४ गतेको आदेशले आरोपित पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।