जुम्लासहित कर्णालीका विभिन्न जिल्लामा लम्पी स्किन रोगले पशुचौपायमा क्षति पुगेको छ । रोग नियन्त्रण बाहिर गएकोले धेरै पशुचौपाया मर्ने गरेका छन् । लम्पी स्किन रोगले पशुचौपाया मरेपछि कृषक मर्कामा परेका हुन् ।
लम्पी स्किन रोगले लैनोभैँसी र गोरु मरेको चन्दननाथ नगरपालिका–४ मालाभिडका ७५ वर्षीय रामदत्त देवकोटाले बताउनु भयो । उहाँले भन्नुभयो भैँसीको दूध बेचेरै घरखर्च चलाउँदै आएका थियौ । घरमा दैनिक सात–आठ लिटर दूध उत्पादन हुन्थ्यो । बजारमा दूध बिक्री गर्दै आएको थिए ।
तर, असारको १८ गते लैनोभैँसी मरेपछि बेखर्ची भएको उहाँले गुनासो गर्नु भयो । चराउन लेगेको भैँसी एक्कासी म¥यो । लम्पी स्किन रोगकै कारण लैनोभैँसी गुमाउनुपरेको उहाँको भनाई छ ।
भैँसी मर्नुभन्दा केही दिनअघि लम्पी स्किन रोग जुम्लामा पनि देखिएको थियो । रोग लागेको थाहा पाएपछि असार १७ गते भैँसीलाई सुई लगाउन पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लामा लगेको उहाँले बताउनु भयो । सुई लगाउने कर्मचारी नभेट्टाएपछि घर फर्किएकोे भोलिपल्ट ५८ हजार रुपियाँ हालेर किनेको लैनोभैँसी गुमाएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब कसरी घरखर्च चलाउने हो समस्यामा परेको छु ।’
भैँसी मरेकै भोलिपल्ट असार १९ गते जोत्ने गोरु पनि मरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयोे, ‘जोत्ने गोरु पनि म¥यो, लैनोभैँसी पनि म¥यो ।’ गाईभैँसीको बिमा गर्ने कार्यक्रम जुम्लामा लागू भए पनि आफूले बिमा नगरेको उहाँले बताउनु भयो ।
तिला गाउँपालिका–८ जुम्लाकोटका धनलाल बस्नेतका अनुसार लम्पी स्किन रोगका कारण एक हल गोरु (दुई बल्ल) मरे । यो रोगले गाउँघरमा पशुचौपायामा भयाभय रुप लिएको छ । रोग नियन्त्रण तथा रोगथाममा सरोकारवाला निकाय बेखबर भएको उहाँले गुनासो गर्नुभयो ।
उनीजस्तै धेरै पशुपालक कृषक लम्पी स्किन रोग जिल्लामा फैलिएको खबरले चिन्तित छन् । जुम्लामा १२ हजार २ सय २९ पशुमा यो रोग देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाले जनाएको छ । कार्यालयका अनुसार हालसम्म ३४ गाईगोरु मरेका छन् । सङ्क्रमितमध्ये १ हजार ७ पशुको मात्रै उपचार गरिएको जनाएको छ ।
जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा लम्पी स्किन रोग फैलिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । ‘जिल्लाको सबै क्षेत्रमा लम्पी स्किन रोग फैलिएको देखियो । पशु प्राविधिकहरू गाउँबस्तीमा खटिएर रोकथामको उपायहरू अपनाइरहेका छन्,’ पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले भन्नुभयो ।
‘रोग नलाग्दै अगाडि रोकथाम गर्नुपर्ने हो । त्यो बेला मन्त्रालयले खोप पठाएन । अहिले नियन्त्रणभन्दा बाहिर गइसकेको छ । यहाँ भएको केही खोप स्थानीय तहमा पठाएको छु,’ प्रमुख बुढ्थापाले भन्नुभयोे, ‘६ हजार डोज खोप माग गरेको छु । प्राप्त भएको छैन । असार मसान्तमा सबै बजेट खर्च भएको बेलामा यो रोग फैलियो । यो विषयमा पनि स्थानीय तहका जनप्रनितिधिसँग कुरा भइरहेको छ । आपतकालीन कोषबाट यसको रोकथाम र उपचारका लागि मन्त्रालयदेखि स्थानीय तहसम्म समन्वय भइरहेको छ ।’
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी कनकासुन्दरी, सिजा, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाका गाईगोरुमा सङ्क्रमण फैलिएको छ ।
यो सङ्क्रमण भएको अवस्थामा गाईगोरुमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्याधिक तरल पदार्थ आउने, ¥याल काढ्ने, खुट्टा सुन्निने, शरीरमा फोका आउने लक्षण देखापर्ने गरेको छ ।
कर्णालीमा सात हजार बढी पशुचौपायको मृत्यु
कर्णाली प्रदेशमा लम्पी स्किन रोगले ७ हजार बढी पशुचौपाया मरेका छन् । कर्णालीका १० वटै जिल्लामा महामारीका रुपमा फैलिएको यो रोगबाट ७ हजार ६ सय ३२ पशुचौपाया मरेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लम्पी स्किन रोगबाट सबैभन्दा धेरै जाजरकोट प्रभावित देखिएको छ । जाजरकोटमा २ हजार ४ सय ३० पशुचौपाया मरेको मन्त्रालयका निमित्त सचिव राजु भुजले जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटमा बाछाबाछी ३ सय ६५, गाई ५ सय २५, गोरु १ हजार ४ सय ९५ र भैंसी ४६ वटा मरेका छन् । यस्तै रुकुमपश्चिममा ४ सय ५७ गोरु र ११ भैंसी गरी ४ सय ६८, सल्यानमा ९५ बाछा बाछी, १ सय ९५ गाई, ६ सय ३१ गोरु र ९२ भैंसी गरी १ हजार १३ मरेका छन् ।
सुर्खेतमा २ सय ६१ बाछा बाछी, २ सय ६९ गाई, ४ सय ४ गोरु र ९४ भैंसी गरी १ हजार २८ पशुचौपाया मरेका छन् । यस्तै दैलेखमा १ सय १५ बाछाबाछी, ६४ गाई, २ सय ९२ गोरु र तीन भैंसी गरी ४ सय ७४, कालिकोटमा बाछा बाछी ८०, गाई १ सय ९७, गोरु २ सय ५० र तीन वटा भैंसी गरी ५ सय ३०, मुगुमा ५९ बाछा बाछी ३६, डोल्पामा १९ बाछाबाछी, गाई ४० र २६ गोरु गरी १ सय २१, ४१ गोरु र दुई चौरी गरी १ सय दुई र हुम्लामा २ सय ५३ बाछा बाछी, ५ सय ४५ गाई, ६ सय ६८ गोरु गरी १ हजार ४ सय ६६ पशुचौपाया मरेको उहाँको भनाई छ ।
मन्त्रालयका अनुसार प्रदेश भर सङ्क्रमित पशुको सङ्ख्या २ लाख ७ हजार २ सय ७३ रहेको छ । जसमा बाछा बाछी ४२ हजार ५ सय ६, गाई ४५ हजार १ सय ३०, गोरु १ लाख १६ हजार ४ सय, भैंसी २ हजार ३ सय ९१ र चौरी २ सय ८२ वटा रहेका छन् । सङ्क्रमित मध्ये एक लाख २५ हजार ९१ पशुचौपायको उपचार गरिएको छ भने ९ हजार ९ सय एक वटा लाई खोप लगाइएको छ ।
महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउँदै निमित्त सचिव भुजले लम्पी रोग सङ्क्रमित पशुको आधारमा मृत्यु दर तीन दशमलव ६८ प्रतिशत रहेको बताउनु भयो । मन्त्रालयले रोग रोकथाम तथा नियन्त्रणका लागि ४० लाख
रकमान्तर गरी १७ हजार डोज खोप तथा अन्य औषधी खरिद गरी सबै जिल्लामा वितरण गरिएको जनाएको छ । १७ हजार खोप मध्ये हालसम्म ९ हजार ९ सय एक डोज खोप लगाइएको र सात हजार ९९ डोज खोप अझै स्टक रहेको जनाएको छ ।