मिर्चैया नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मिर्चैया नगरपालिका–२ का १९ वर्षीय विमलेश महरालाई १८ वर्ष कैद सजायको फैसला ०८० असार १९ गते गरेको छ ।
जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । अर्का आरोपित सोही ठाउका २४ वर्षीय सतिससकुमार साफीलाई सफाय दिने फैसला भएको छ । त्यसैगरी आत्महत्या दुरुत्साहनमा १ वर्ष कैद र १० हजार जरीवाना र दुवै सजाय बापत ६ महिना कैद भएकोमा अधिकतम सजाय बापत महरालाई १८ वर्ष ६ महिना कैद भएको हो ।
बालिकाले ०७९ असार २१ गते बलात्कार पछि आत्महत्या गरेको आरोपमा आरोपितहरू विरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले असार २१ गते उजुरी दिएका थिए । पीडित परिवारका अनुसार असार २० गते राति आरोपितहरूले बालिकालाई बलात्कार गरेको र स्थानीयहरूले थाहा पाए पछि आरोपितहरू भागेको र बिहान असार २१ गते बालिकाले घरमै सलले पासो लगाई आत्महत्या गरकी थिइन् । शवको पोष्टमार्टम धरानस्थित विपि प्रतिष्ठानमा असार २२ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपित सतिशलाई असार २८ गते गिरफतार गरेको थियो । सतिश साउन २५ गते अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा थिए । विमलेश जिल्ला अदालतमा ०७९ भदौ ८ गते हाजिर भई सोही दिन पुर्पक्षका लागि थुनामा रहेका थिए ।