बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले असार १२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
ओरेक नेपालको सेफ हाउसमा बस्दै आइरहेका दुई जना पीडितलाई न्यायिक प्रक्रियामा जानका लागि सहयोग गर्न आर्थिक सहयोग प्रदान गरिएको हो ।
पीडित महिला र बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै ओरेकले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप जनही ८ हजार रुपियाँ प्रदान गरेको हो ।
३० वर्षीया महिलालाई ०७९ चैत २९ गते बलात्कार गरेको आरोपमा कैलारी गाँउपालिका–२ का ३७ वर्षीय सुवर्ण चौधरी विरुद्ध पीडित पक्षले चैत ३० गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण चैत ३० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
यसैगरी १६ वर्षीया बालिकालाई ०८० वैशाख ४ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका—११ पेरहनी २१ वर्षीय अविनाश चौधरी विरुद्ध पीडित पक्षले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण वैशाख ५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
पीडितलाई न्यायिक प्रकृयामा जान आर्थिक अभाव भएपछि सहयोग गरिदिन इन्सेकलाई सिफारिस गरिएको ओरेककी वरिष्ठ कार्यक्रम अधिकृत गिता चौधरीले बताउनु भयो ।
आर्थिक समस्याका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।
मुद्दा कानुनी प्रक्रियामा रहेकाले न्यायका लागि लड्न आत्मबल बढाइ आर्थिक अभाव झेलिरहेको आवस्थामा आर्थिक सहयोग प्रदान गरेकोमा पीडित पक्षले इन्सेकलाई धन्यवाद व्यक्त गर्नु भयो ।