INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख रुपियाँ राहत दिने प्रदेश सरकारको निर्णय

कोशी प्रदेशका ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा गरी भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका परिवारलाई १ लाख रुपियाँ राहत स्वरुप उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको असार ४ गतेको मन्त्री परिषद् बैठकले मृतकका प्रतिपरिवारलाई १ लाख रुपियाँ र बाढीपहिरोमा घाइते भएका व्यक्तिलाई उपचारका लागि ५० हजार रुपियाँ दिने निर्णय गरिएको मुख्य मन्त्रीका प्रेस संयोजक महेन्द्र विष्टले बताउनु भयो ।

भारी वर्षाका कारण असार २ गतेको बाढी र पहिरोमा परी भोजपुर, टेम्केमैयुम गाउँपालिका–८ का ३२ वर्षीय मन्दीप राई, सङ्खुवासभाको पाँचखपन नगरपालिका–९ का २६ वर्षीय सन्तोष राई, पाँचथर, फालेलुङ गाउँपालिका–४ की आठ वर्षीया जुना साउदेन, फिदिम नगरपालिका–११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा गाँउपालिका–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राईले ज्यान गुमाउनु भएको छ ।

बाढी र पहिरोका कारण २८ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी सङ्खुवासभामा १८ जना बेपत्ता छन् ।

बेपत्ताहरूको खोजी र बाढीपहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

प्रदेश सरकारले प्रभावितका लागि आपतकालीन राहत सामग्री सम्बन्धित जिल्लामा पठाएको छ ।

अन्य

भिडियो