INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीको तालाबन्दीपछि पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि परीक्षा स्थगित भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले सूचना प्रकाशित गरी ०८० जेठ ३२ गतेदेखि सञ्चालन हुने सबै सङ्कायका परीक्षा विशेष कारण देखाउँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि  स्थगित गरेको जनाएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै जेठ २८ गतेदेखि पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् ।

सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने, विश्वविद्यालयमा देखिएका समस्याको हल र सुधारका विभिन्न माग राख्दै ०७९ पुसदेखि निरन्तर रूपमा आन्दोलनका कार्यक्रम गर्दै आए पनि विश्वविद्यालयले विद्यार्थी सङ्कठनको माग सम्बोधन नगरी काम गरेको आरोपमा जेठ २८ गते विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ ।

विद्यार्थी संगठनको तालाबन्दीका कारण जेठ ३२ गतेको इन्जिनियरिङ, असार ३ गते हुने साइन्स एण्ड टेक्नोलोजी, असार ८ गते हुने मेडिकल शिक्षा र असार १० गते हुने व्यवस्थापन सङ्कायको परीक्षा अनिश्चितकालका लागि स्थागित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक बालेन्दु हमालका अनुसार हाल परीक्षा भइरहेका बाहेक जेठ ३२ गतेदेखि हुने भनिएको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

परीक्षा स्थगित भएपछि विद्यार्थीले निर्वाध रूपमा लिन पाउने शिक्षाको अधिकार हनन भएको परीक्षा नियन्त्रक बालेन्दु हमालले बताउनु भयो ।

परीक्षा नियन्त्रण कार्यालयमा लगाइएको तालाबन्दी खुलेपछि मात्रै परीक्षाका कार्यक्रम सार्वजनिक गर्ने परीक्षा नियन्त्रक हमालको भनाइ छ ।

Photo 20230616 Morang

अन्य

भिडियो