अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष ३२ वर्षीय चेतन अयडीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका नेता रनसिंह अयडीलाई जेठ ३२ गते धनगढीबाट गिरफ्तार गरेको छ ।
हत्या घटनाका फरार आरोपित अयडी धनगढी बसपार्कस्थित घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर खगेन्द्र साउदले बताउनु भयो ।
०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा त्रिवेणी नपारपालिका–७ नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरू चेतन अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित परिवारको आरोप छ ।
घटनाका मुख्य आरोपित ऐडीलाई धनगढी बसपार्कस्थित घरमा लुकिछिपी बसेको अवस्थामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ, कैलालीको सयुक्त टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको युवा संघ, बाजुराका अध्यक्ष मिलन अयडीले बताउनु भयो ।
चेतन अयडीको मङ्सिर ४ गते त्रिवेणी नगरपालिका–७ स्थित उहाँकै घरमा कुटपिट गरी हत्या गरिएको थियो ।
हत्यामा संलगन रहको भन्दै पीडित परिवारले २२ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा आरोपित मध्येका नौ जना पुर्पक्षका लागि जिल्ला कारागार, बाजुरामा रहेका छने भने अन्य व्यक्तिहरु फरार रहेका छन् ।
त्रिवेणी नगरपालिका–७ नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा भएको दोहोरो झडपका क्रममा प्रहरीको गोली लागि त्रिवेणी नगरपालिका–७ कोसेडीका २४ वर्षीय सञ्जीव अयडीको समेत मृत्यु भएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको छुट्टाछुट्टै टोलीले घटनाका बारेमा स्थलगत अध्ययन गरेको थियो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा प्रशासन र सुरक्षा सयंन्त्रको ढिलासुस्ती, अनिच्छा वा लापारवाहीका कारण घटना भएको निष्कर्ष छ ।