एक हप्ता अगाडी आएको हावाहुरीले उडाएको के.आइ.सिंह गाउँपालिका–५ तल्लो जमलकटियास्थित दुर्गा प्राथमिक विद्यालयको भवनको छानो मर्मत नहुँदा सो विद्यालयमा अध्ययनरत बालबालिकाहरु चौरमा बसेर पढन बाध्य भएका छन् ।
जेठ २१ गते राती आएको हावाहुरीले विद्यालय भवनका तीन ओटा कोठाको जस्तापाता उठाउँदा पठनपाठनमा समस्या हुने गरेको दुर्गा प्राथमिक विद्यालयका शिक्षिका रिता भट्टले गुनासो गर्नुृ भयो ।
उहाँले भन्नु भयो– ‘अत्याधिक गर्मिको समयमा बालबालिकाहरुलाई चौरमा राखेर पठनपाठन गर्दा निकै समस्या हुने गरेको छ ।’
गत वर्ष कात्तिक महिनामा आएको अभिरल वर्षाले भत्ताएका विद्यायलका तीन ओटा कोठा यस वर्ष मात्रै निर्माण गरिएकोर यस वर्ष हावाहुरीले जस्तापाता उडाउँदा पठनपाठनमा थप समस्या भएको दुर्गा प्राथमिक विद्यालयका प्रध्यानाध्यापक प्रेम बिकले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘गत वर्ष विद्यालयको चौरमा पठनपाठन गर्दा जाडोको समयमा बिरामी हुने डरले न्यून सङ्ख्यामा विद्यार्थीहरु उपस्थित हुन्थे । गर्मिको समयमा विद्यार्थीहरुलाई चौरमा पढाउँदा न्यून उपस्थित हुने गरेको छ । धेरै विद्यार्थीहरु पढाइबाट वञ्चित हुने गरेका छन् ।’
विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयको पुनर्निर्माण हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– दुई ओटा सरकारी अनुदानबाट शिक्षकहरु छन् । तीन जना शिक्षक निजिश्रोतबाट राखेका छौँ । विद्यालयको आर्थिक अवस्था निकै कमजोर छ । वडा कार्यालयमा निबेदन बुझाएको एक हप्ता भन्दा बढी समय भयो । कुनै सुनुवाइ भएको छैन् ।
के आइ सिँह गाउँपालिका–५ का वडाध्यक्ष दुर्गासिंह रावलले विद्यालयको भवन छिट्टै पुनर्निर्माण हुने बताउनु भयो । उहाँले वडा कार्यालयमा निवेदन आइसकेकोले एक हप्ता भित्र बजेटको व्यवस्थापन गरी विद्यालय भवन मर्मत गरी बालबालिकाहरुको पठनपाठन सहज गरिने बताउनु भयो ।
