हरिपुर नगरपालिका–६, लक्ष्मीपुरकी ४२ वर्षीया ईन्द्रकला देवी साहलाई कुटपिट गरि हत्या गरेको आरोपमा पति ४५ वर्षीय राजाराम साहविरुद्ध मृतकका बुबा ६२ वर्षीय विनोद साहले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ ३० गते उजुरी दिनुभएको छ ।
माइती पक्षबाट दुई लाख रुपियाँ नल्याएको विषयमा जेठ २६ गते पति पत्नीबिच विवाद हुँदा पतिले गरेको कुटपिटका कारण जेठ २८ गते विहान पत्नी ईन्द्रकलाको मृत्यु भएको मृतकका बुबाको आरोप रहेको छ। आरोपितले यस अघी पनि पटक–पटक कुटपिट गरी मानसिक तथा शारीरिक यातना दिने गरेको साहले बताउनु भएको छ ।
आरोपित पति घटना पश्चात फरार छन् । जेठ २८ गते घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मलङ्गवाका टोलीले सर्लाहीको लखनदेही नदीमा सदगद गर्न लगिएको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याएको डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
घटना ढाकछोप गर्न आरोपितलाई सहयोग गर्ने सोही ठाउँका ३५ वर्षीय दिनेसलाल महतो, २९ वर्षीय सुरेन्द्र साह र २२ वर्षीय रामकिशोर साहलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाले गिरफ्तार गरी अनुसन्धानको प्रक्रियालाई अगाडी बढाएका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।