सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालय तुम्चका विद्यार्थी विगत चार वर्षदेखि डेस्क बेन्चको अभावमा भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेस्क र बेन्चको व्यवस्था गर्न नसकेपछि आफुहरू भुइँमा बसेर अध्ययन गर्नु परेको कक्षा ६ मा अध्ययनरत छात्र मनिश खड्काले गुनासो गर्नु भएको छ ।
कक्षा ७ र ८ का विद्यार्थी जीर्ण डेस्क बेन्चमा बसेर अध्ययन गर्दै आएको भए पनि बाँकी बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थी भुइँमा बसेर अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिनु भएको छ । विद्यालयका दुईवटा कक्षामा रहेका डेस्क बेन्च पनि अभिभावकको प्रयासले निर्माण गरिएको जानकारी दिनु भयो ।
भवन निर्माण गर्ने कार्य भए पनि कोठामा डेक्स बेन्चको व्यवस्था नहुँदा चार वर्षदेखि विद्यार्थी भुइँमा बस्दै आएको प्रधानाध्यापक रावतले जानकारी दिनु भयो । विद्यालयको कक्षा कोठामा विद्यार्थीले घरबाट काठको टुक्रा वा ढुङ्गा बोकेर ल्याइ त्यसमाथि बस्नेगरेको प्रधानाध्यापक रावतको भनाइ छ ।
विद्यालयमा २ सय २० जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । प्रधानाध्यापक रावतले वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेस्क बेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको गुनासो गर्नु भएको छ ।
लामो समय विद्यालयका कक्षा कोठामा डेस्क बेन्च नभएर पठनपाठन भएको विषयमा गाउँपालिकाको उपाध्यक्ष चन्द्रसिंह कार्कीलाई बुझ्दा गाउँपालिकाले सो विद्यालयका लागि प्रदेश सरकारलाई बजेटको अनुरोध गरेको र गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
