मध्यपुरथिमि नगरपालिका-१ मनोहरा पुलसँगै जोडिएका मनोहरा बस्तीका तीन ओटा घर टहरा तथा पसलमा ०८० जेठ ९ गते डोजर चलाएर भत्काउँदा त्यहाँ बसोबार गर्दै आएका तीन घर परिवारको उठिबास भएको छ ।
मनोहरा जग्गा एकीकरण आयोजनाले जग्गा हडपेर आयोजना भित्र पारेपनि त्यसमा असहमति जनाउँदै पीडित परिवारले आफ्नै जग्गामा टहरा बनाएर बसेको ठाउँमा पनि डोजर चलाएर उठिबास लगाएको पीडित परिवारकी सन्तोषी खत्रीले बताउनु भयो ।

काली खत्रीको नाममा रहेको १४.२ आना जग्गा आयोजनाले लिएको सोही ठाउँमा जग्गा माग गर्दा नदिएर अन्यत्र पाँच आना जग्गा मात्रै दिएको भन्दै उनीहरूले आफ्नै जग्गामा टहरा बनाएर बसेको पीडित परिवारकी खत्रीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मूल सडकमा जोडिएको हाम्रो १४ आना जग्गा आयोजना भित्र गाभ्यो र अन्यत्र पाँच आना जग्गा फिर्ता लिन बोलायो, हामीले हाम्रै ठाउँमा जग्गा दिन माग गर्यौँ, आयोजनाले नदिएपछि हाम्रो ठाउँ नछाड्ने भनेर टहरा बनाएर पसल गरेर जीविकोपार्जन गर्दै थियौँ, आज डोजर लगाएर भत्कायो र उठिबास लगायो ।’
डोजर लगाउँदा सामानहरू छरपष्ट बनेका छन् भने खाने र बस्ने समेत ठाउँ नभएको पीडित पक्षका परशुराम खत्रीले बताउनु भयो ।

आयोजना भने अतिक्रमित घर, टहरा, छाप्रा, भर्याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले ०७९ भदौ ५ गते र फागुन १७ गते दुई पटक गोरखापत्रमा सूचना प्रकाशित गरेको र फेरी माइकिङ गर्दै अतिक्रमित घर टहरा हटाउन पटक पटक निर्देशन दिँदा पनि अटेर गरेकाले डोजर चलाएको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिनुभयो ।
उहाँले भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको, पटक पटक अतिक्रमित क्षेत्र र आयोजना भित्र माइकिङ गरेको र गत साता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिड गर्दा पनि अटेर गरेपछि भत्काएको बताउनु भयो ।
मध्यपुरथिमि नगरपालिका वडा नं. १ का वडाध्यक्ष बाबुकाजी डङ्गोलले जेठ १० गते पीडित पक्ष र आयोजनाबीच वडा कार्यालयमा छलफल गराएको बताउनु भयो ।
मध्यपुरथिमि नगरपालिका क्षेत्रको संरचना भत्काउँदा नगरपालिकालाई जानकारी समेत नदिनु अयोजनाको गल्ती भएको भन्दै पीडितलाई क्षतिपुर्ति दिलाउन आयोजनालाई आग्रह गरेको उहाँले बताउनु भयो ।
