INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित प्रधानाध्यापक गिरफ्तार

भानु नगरपालिका– १३ ठुल्ढुङ्गा स्थित एक विधालयका प्रधानाध्यापक  सैलेन्द्रकुमार साहलाई सोही विद्यालयका छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जेठ ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

जेठ ७ गते आफु कक्षा नौ मा पढाउन जाँदा छात्राहरू रोइरहेको देखेको र के भयो भनेर सोध्दा साहले शारीरिक, मानसिक र यौन दुर्व्यवहार गरेको छात्राहरूले बताएको शिक्षक दिपेन्द्र थापाले जानकारी दिनु भयो ।

त्यसपछि सोही कक्षाका २० जना छात्राहरूले वडा कार्यालयमा गई प्रधानाध्यापकलाई कारबाही गर्नु पर्ने निवेदन दिएका थिए ।

वडा अध्यक्ष कृष्णबहादुर अधिकारीले यसबारेमा जेठ ८ गते छलफल गर्ने बताउनु भएको थियो ।

उक्त घटनाको बारेमा पोखरीछाप प्रहरी चौकीमा जानकारी दिएपछि जेठ ८ गते साहलाई विधालय परिसरबाटै गिरफ्तार गरिएको थियो ।

कक्षा आठ देखी १२ सम्मका २० जना छात्राहरूले अभिभावक र केही शिक्षकहरूको साथमा प्रधानाध्यापक  विरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ ८ गते उजुरी दिएका थिए ।

कक्षा नौ की १४ वर्षीया एक छात्राले इन्सेक प्रतिनिधिसँग साहले पहिले देखी नै आफुहरूलाई यौन दुर्व्यवहार गर्दै आएको बताउनु भयो । ‘हेडसरले छात्रहरूलाई कहिले पनि गृहकार्य दिनुहुन्थेन, सँधै छात्राहरूलाई मात्र गाह्रो गृहकार्य दिने गर्नु हुन्थ्यो’ उहाँले भन्नु भयो ‘अनि गृहकार्य गर्न जानेन भने सबैभन्दा अगाडि लगेर उभ्याएर मानसिक यातना दिने, त्यही बाहानामा दुर्व्यवहार गर्ने गर्नु हुन्थ्यो ।’

उक्त विद्यालयकी पुर्व शिक्षिका कल्पना थापा खड्काले प्रधानाध्यापक साहले यस अघि पनि दुर्व्यवहार गर्ने गरेको आफुले पनि देखेको बताउनु भयो । यो कुरा पटक–पटक विद्यालय व्यवस्थापन समिति र स्टाफ मिटिङमा राखेपनि कसैले पनि वास्ता नगरेको उहाँले बताउनु भयो ।

आरोपित साहलाई गिरफ्तार गरि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा शाखाका इन्स्पेक्टर नरहरी अधिकारीले बताउनु भयो ।

अन्य

भिडियो