INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय महिला आयोगद्वारा समाजमा विद्यमान रहेका हानिकारक अभ्याससम्बन्धी अन्तरक्रिया सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह, वहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोपलगायत प्रथाको न्यूनिकरणसम्बन्धी सुदूरपश्चिम प्रदेश केन्द्रीत अन्तरक्रिया कार्यक्रम जेठ ४ गते मार्तडीमा सम्पन्न भएको छ ।

राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेको उपस्थितिमा आयोजित कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

महिला भएकै कारण महिलामाथि हुने हिंसाको अन्त्य नभएसम्म घर, समाज र राष्ट्रको उन्नती तथा प्रगति नहुँने भएकोले समाजमा रहेका सबै प्रकारका विभेद र हिंसाको अन्त्यका लागि तीनै तहका सरकार र समाजका अगुवाहरुको पहत्वपूर्ण भुमिका रहनु पर्ने राष्ट्रिय महिला आयोगका सदस्य घिमिरेले बताउनु भयो ।

उहाँले नेपालको संविधानले राष्ट्रिय महिला आयोगलाई संवैधानिक मान्यता दिएको, आयोगले देशका सबै क्षेत्रमा महिला अधिकारको संरक्षण र सम्बर्धनका लागि काम गर्दै आएको बताउँदै आयोगले गर्ने काम कार्वाही, उजुरी र कानुनी कार्वाहीका सन्दर्भमा जानकारी गराउनु भएको थियो ।

photo20230520bajura (2)

नेपाल पत्रकार महासघ, बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले राष्ट्रिय महिला आयोगले गर्ने गतिविधि र कार्यहरुले दुर्गमका महिलाहरुलाई न्यायको अनुभूति गराउनु पर्ने बताउनु भयो ।

उहाँले दुर्गम ठाउँका महिलाहरुले समाजमा विद्यमान रहेका हिंसाको प्रत्येक्ष मारमा पर्दैआएका भए पनि सहयोगको अभावमा सहेर बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

अधिवक्ता हर्क खडायतले २०७२ सालदेखि काम थालनि गर्दै आएको महिला आयोग आठ वर्षपछि पहिलो पटक यस दुर्गम जिल्लामा पुगेर आयोगले गर्ने कार्यहरुका बारेमा पहिलो पटक जानकारी गराउनु दुःखलाग्दो विषय भएको बताउनु भयो ।

मानव सूचाकाङ्कका हिसावले देशकै सबै भन्दा पछाडी रहेको यस जिल्लालाई राष्ट्रिय महिला आयोगले पनि पछाडी राख्न नहुने अधिवक्ता खडायतले बताउनु भयो ।

photo20230520bajura (1)

महिला अधिकार मञ्चकी अध्यक्ष रुखमणी शाहले राष्ट्रिय महिला आयोगले दुर्गम जिल्लाका हिंसा पीडित महिलाहरुलाई विषेश प्रथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले जिल्ला, सदरमुकाम, मार्तडीमा हिंसापीडित महिलाहरुको संरक्षणका लागि सेभ हाउस सञ्चालन गरिएकोले यसको प्रभावकारी व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय महिला आयोगको थप सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

अन्य

भिडियो