बरेङ गाउँपालिका– १ धुल्लु लिउवाका स्थानीयको घर–घरमै धारा छन् तर पानी नभएर स्थानीयलाई सास्ती भएकाे छ ।
वर्षाैदेखि यहाँका स्थानीयले भोग्दै आएको खाने पानीको समस्या समाधान गर्न तीन वर्ष पहिले नेवाको आर्थिक सहयोगमा यहाँका १ सय घरमा एक घर एक धारा निर्माण गरिएको थियो ।
व्यक्तिका घर घरमा धारा आएपनि हालसम्म यहाँका स्थानीयलाई प्रयाप्त पुग्ने गरि धारामा पानी भने आउन सकेको छैन् । धारा जडान भएको केही समय २४ सै घण्टा पानी आएको थियो । तर, धारामा पानी जडान गरिएको मुल विवादको कारण पछिल्लो दुई वर्ष यता यहाँका स्थानीयले पुरानै समस्या भोगिरहेका छन् ।
‘३६ लाख रुपियाँ लागतमा निर्माण गरिएका धारामा दुइ दिनको एक पटक एक घण्टामात्र पानी आउँछ,’ स्थानीय नन्दकुमारी पाध्याले भन्नुभयो ‘गाग्री, ग्यालीन, बाल्टिनमा भरेर राखेको पानीले खाने, नुहाउने, गाइवस्तुलाई खुवाउने, शौचालयमा नापेर प्रयोग गर्नुपरेको छ ।’
चित्रे सिस्नेरीमा रहेको मुहानबाट पानी ल्याएर प्रत्येक घरको धारामा नेवाले पानी पुर्याएको थियो तर मुहानमाथी सोही ठाउँका स्थानीयले पानी ट्याङ्की बनाएपछि धुल्लु लिउवाका स्थानीयको धारामा पानी सुक्यो स्थानीय सरस्वती शर्माले भन्नुभयो गाग्री बोकेर सामुदायिक धारा, खोला खोल्सा धाउनु पर्ने पुरानो समस्याले गर्दा हामीलाई निकै सास्ती भएको छ ।
सामुदायिक धारामा पानी थाप्नको लागि यहाँका महिलाहरू बिहान ४ बजे उठ्नुपर्ने बाध्यता रहेको शर्माको भनाई छ । ‘बिहान ४ बजे सामुदायिक धारामा पालो लगाउन नगए पालो कुर्दा कुर्दै बिहान बित्छ,’ शर्माले भन्नुभयो ‘धारामा दुई दिन बिराएर पानी आउँछ, सामुदायिक धारामा एक गाग्री पानी भर्न अहिले पनि घण्टौ लाइन बस्नुपर्छ ।’
चित्रे सिस्नेरीको मुलमा प्रसस्त पानी देखेर लिउवा खानेपानी उपभोक्ता समिति मार्फत नेवाको आर्थिक सहयोगमा घर–घरमा खानेपानीको धारा निर्माण गरेपनि पछि मुलमा विवाद हुँदा धारामा पानी आउन नसकेको स्थानीय लिलाधर शर्माले बताउनुभयो ।
‘मुलमा विस्तारै पानी घट्दै गएपछि मुलको अध्ययन गर्न पुग्यौ, माथिल्लो मुलको पानी तल्लो मुलमा आएर हाम्रो धारामा पानी आएको रहेछ, अहिले त्यहाँका स्थानीयले मुलको पानी आफूहरूलाई अभाव भएको भन्दै माथिल्लो मुल मर्मत गरे, हामिले पानी ल्याए तल्लो मुलमा पानी सुक्यो र समस्या आयो’ शर्माले भन्नुभयो ‘अहिले गाउँपालिकाले मुहान विवाद मिलाउन प्रयास गरेको छ, पानीको संकट पुरानै अवस्थामा आएपछि लिफ्ट आयोजनाको विकल्प छैन ।’
सामुदायिक धारा प्रयोग गर्दै आएका यहाँका स्थानीयहरूले घर–घरमा खानेपानीको धारा निर्माण पछि खुशी भएपनि उक्त खुशी एक वर्ष समेत टिक्न नसकेको स्थानीयको भनाइ छ ।