INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा पत्रकार कुटिपट घटनाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जेठ २ गते राति पत्रकारमाथि भएको कुटपिट र अभद्र व्यवहार घटनासम्बन्धमा जेठ ३ गते स्थलगत अनुगमन गरेका छन् ।

अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापा, इन्स्पेक्टर सिताराम विष्ट, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्स्पेक्टर बिनु शाही, पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाका अध्यक्ष माधव धामी, पीडित पत्रकार ऐश्वर्य कुँवर, राजेन्द्र नाथ, घटनाका प्रत्यक्षदर्शी र पीडित परिवारसँग भेटघाट गरी सूचना सङ्कलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कमल थापाले भारतबाट चोरी तस्करी गरी सामान ल्याइरहेका महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको समयमा ड्युटीमा खटिएका प्रहरीले पत्रकार भएको भन्ने जानकारी नभएपछि नियन्त्रणमा लिएको अनुगमन टोलीलाई बताउनु भयो ।

प्रहरीले नियन्त्रणमा लिएका मध्ये पत्रकारहरु पनि रहेको भन्ने आफूलाई जानकारी आएपछि नियन्त्रणमा पर्नु भएका दुबै जना पत्रकारलाई तत्काल रिहा गरिएको र कसैलाई पनि कुटपिट नगरिएको बताउनु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्स्पेक्टर बिनु शाहीले भारतबाट भान्सार नतिरी मालसामान लिएर आएका व्याक्तिहरुलाई चेकजाँच गरी सामान बरामद गरिरहेको समयमा पत्रकार ऐश्वर्य कुँवरले समेत प्रहरीमाथि दुर्व्यवहार तथा गालिगलौज गरेपछि नियन्त्रणमा लिनु परेको बताउनु भयो ।

उहाँले पत्रकार कुँवरलाई नियन्त्रणमा लिएर गाडीमा राख्न खोज्दा गाडीमा खुट्टा ठोकिएर समान्य चोट लागेको तर प्रहरीले कुटपिट नगरेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर सिताराम विष्टले सामान क्यारिङ्ग गरेर आइरहेको महिलाहरुलाई नियन्त्रणमा लिइरहेको समयमा मापसे गरेका व्यक्तिले फोटो खिचिरहेको देखेपछि आफूले तपाई को हो भनेर सोधेको र उहाँले पत्रकार भनेपनि कुनै परिचय पत्र र पहिचान नभएपछि नियन्त्रणमा लिएको बताउनु भयो ।

उहाँले नियन्त्रणमा लिएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा पुर्‍याउँदा उहाँ पत्रकार भएको पुष्टि भएपछि पुनः उहाँलाई प्रहरीकै गाडीमा राखेर नियन्त्रणमा लिइएको स्थलमा सुरक्षित रुपमा पुगाएको बताउनु भयो ।

प्रहरीले गिरफ्तार गरेका राजेन्द्र नाथ सिमारेखा डटकमका प्रकाशक तथा सम्पादक हुन भने ऐश्वर्य कुँवर आभाषकुञ्ज दैनिकका सम्वाददात हुन् ।

प्रहरीले गिरफ्तार गरेका पीडित पत्रकार राजेन्द्र नाथले प्रहरी र भारतबाट सामान बोकेर ल्याउने महिलाहरु बीच झडप भइरहेको समयमा आफूले फोटो खिचिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरी हतघडी नै लगाएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको अनुगमन टोलीलाई बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि जिल्ला प्रहरी कार्यालयका एसपी थापाले डियूटीमा खटिएका प्रहरीहरुले पहिचान नखुलेका कारण नियन्त्रणमा लिएको भएपनि यसलाई अन्यथा नलिनु होला भनेर प्रहरीलाई नियन्त्रणमा लिएको स्थानमा नै पुगाउन निर्देशन दिएपछि आफूलाई घटना भएकै स्थानमा पुर्‍याइएको पत्रकार नाथले बताउनु भयो ।

पीडित पत्रकार ऐश्वर्य कुँवरले घटनास्थलमा रिपोटिङ्ग गरिरहेको अवस्थामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्स्पेक्टर बिनु शाहीले गालिगलौज गरी कुटपिट गर्दै आफूलाई गिरफ्तार गरिएको अनुगमन टोलीलाई बताउनु भयो ।

उहाँले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र राति ११ बजेको समयमा मात्रै पत्रकार महासंघ, कञ्चनपुरका सचिव राजेन्द्रप्रसाद अवस्थीको रोहबरमा छोडिएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश र नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले जेठ ३ गते विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्न व्यक्तिलाई कार्वाही गर्न माग गरेको छ ।

भीमदत्त नगरपालिका–५ सुकासालमा सामान बोकेर आएका व्यक्तिका समान प्रहरीले चेकजाँच गर्दा जेठ २ गते साँझ उत्पन्न भएको विवादका क्रममा प्रहरीले भिमदत्त नगरपालिका–१२ का ताराजोशी, सोही नपा–१ का महेश्वरी लावड, बसन्ती सुनार, सरस्वती खुना, लोकेन्द्र सुनार, कौशिल्या शाह, दिपक भट्ट र जनकबहादुर पाललाई गिरफ्तार गरेको छ ।

घर्‍यासी समानमा समेत प्रहरीले चेकजाँच गरी दुःख दिएको भन्दै स्थानीयहरुले जेठ २ गते राति सुखासालस्थित अस्थायी प्रहरीविटनै भत्काइदिएको सुखासाल बजारव्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पालले अनुगमन टोलीलाई बताउनु भयो ।

भारतबाट सामान लिएर आएका व्यक्तिहरुलाई भिमदत्त नगरपालिका–५ सुकासालमा प्रहरीले चेकजाँच गर्दा सामान बोकेर आएका व्यक्तिहरु र प्रहरीबीच विवाद भइरहेको अवस्थामा पत्रकार ऐश्वर्य कुँवर र राजेन्द्र नाथले घटनास्थलमा फोटो खिच्ने र सूचना संकलन कार्य गरिरहेको अवस्थामा प्रहरीले उहाँहरुलाई गिरफ्तार गरेको अनुगमन टोलीमा संकलन इन्सेकका प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

उहाँले पत्रकार कुँवरको खुट्टामा गहिरो चोट लागेको र शरीरका विभिन्न भागमा निलडाम परेको बताउनु भयो ।

अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग, सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरि ज्ञावली, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका सयोजक खडकराज जोशी, प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्मा र इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि लिली कुँवर रहनु भएको थियो ।

photo20230517kanchanpur (1)

photo20230517kanchanpur (3)

photo20230517kanchanpur (4)

press statement20230517kanchanpur (1)

अन्य

भिडियो