INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षैदेखि धमिलो पानी पिउन बाध्य पठान टोलबासी

वीरेन्द्रनगर नगरपालिका–१० पठान टोलका स्थानीय वर्षैदेखि धमिलो पानी पिउन बाध्य छन् । पठानटोलमा पानीको स्रोत भएतापनि शुद्ध पिउने पानीको स्रोत नहुँदा स्थानीय कुवाबाट आउने धमिलो पानी पिउन बाध्य भएका हुन् ।

उक्त बस्तीमा १ सय २५ घरधुरी छन् । जहाँ अधिकांश दलित समुदायको बसोबास छ । बस्तीमा रहेका नागरिकहरु खुल्ला कुवाबाट आउने धमिलो पानी पिउदैँ आएका छन् ।  गर्मीयाममा हावाहुरीले धुलो झारपात उडाएर कुवामा नै जम्मा भएको हुन्छ । भने वर्षायाममा भने आकाशबाट परेको पानी र जमिनबाट आएको पानी पनि एकै ठाउँमा जम्मा हुने गरेको छ । पानीकोे स्रोतको उचित व्यवस्थापन हुन नसक्दा वर्षै देखि धमिलो पानी पिउदै आएको स्थानीय अम्मर सुनारले बताउनुभयो । वर्षायाममा पानीमा मसिनो खालको किरा देखिने गरेको छ । फिल्टर गरेर पनि पानी पिउन नसकिने उहाँ बताउनुभयो । उक्त बस्तीमा अधिकांश आर्थिक अवस्था कमजोर भएका नागरिक बसोबास गर्दै आएका छन् । फिल्टर खरिद गर्न सक्ने अवस्था समेत नरहेको उहाँँको भनाइ छ ।

अर्का स्थानीय बलबहादुर कामीले भन्नुभयो, पानीको स्रोत प्रयाप्त छ, ‘स्रोत व्यवस्थापनमा कसैले चाँसो नदिदा हामी वर्षै देखी धमिलो पानी पिउन बाध्य छौँ ।’ पानीको स्रोत व्यवस्थापनका लागि वडा कार्यालय, वीरेन्द्रनगर नगरपालिकासंग पटक पटक माग गर्दा पनि वेवास्ता गर्ने गरेको उहाँले बताउनुभयो ।

केही समय अगाडी मानव अधिकार आयाेगकाे टोलीले समेत उक्त ठाउँको अनुगमन गरेको थियो । २०७३ सालमा नगरपालिकाले पानीको कुवा मर्मतका लागि २५ हजार वजेटको व्यवस्थापन गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको रकमले कुवाको केही मर्मत भएता पनि कुवाको पुर्णरुपमा मर्मत हुन नसक्दा स्थानीय वर्षै देखी धमिलो पानी पिउन बाध्य भएका हुन् ।

सुर्खेत उपत्यका खानेपानी संस्थाले वितरण गर्दै आएको पानी उक्त टोलमा पुगेको छ । बस्तीको माथी ट्याङ्की पनि बनाइएको छ । तर बस्तीमा रहेका स्थानीय मध्ये एकजनाको घरमा मात्र उक्त धाराको पानी दिइने गरेको छ । भने अन्य स्थानीयको घरमा पानीको अप्रर्याप्तताका कारण धारा नै वितरण गरिएको छैन् । गर्मीयाम सुरुभएदेखि संस्थानले  मुहानमा पानी घटेपछि ४८ घण्टाको फरकमा पानी वितरण गर्न थालेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका प्रमुख डम्मर गौतमले मुहानमा ४० प्रतिशत पानी घटेको बताउनुभयो ।

वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ । संस्थाले माग अनुसार पानी पुर्‍याउन सकेको छैन् । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ ।

समस्या समाधानका लागि पहल गर्नेः उपप्रमुख खनाल

वीरेन्द्रनगर नगरपालिकाका नगरउपप्रमुख निलकण्ठ खनालले उक्त स्थानमा रहेको पिउने पानीको समस्या समाधानका लागि लागि पहल गर्ने बताउनुभएको छ । पानीको लागि प्रयाप्त वजेट छैन् अहिले उहाँले भन्नुभयो,तर पालिकाको सानो तिनो रकमले समस्या समाधानको सम्भावना रहेछ भने तत्कालै यो विषयमा सुनुवाई हुने बताउनुभयो । उक्त टोलवासीको लागि पहिला पनि पालिकाले कुवा निमार्ण गरेको हो । त्यही कुवाको मर्मतको लागि पहिलो चरणमा अनुगमन गर्ने त्यसपछी मात्र बाँकी काम अगाडी बढाउने उपप्रमुख खनालले बताउनुभयो ।

पानीको समस्या समाधान गर्न प्रदेश सरकारसँग पनि आवश्यक बजेट माग गरिएको उपप्रमुख खनालले बताउनुभयो । संघीय खानेपानी आयोजनासँग समेत मुहान मर्मत सम्भारका लागि बजेट माग गरिएको र नगरपालिकामा खानेपानीको चरम अभाव रोक्न पहल भइरहेको उहाँको भनाई छ ।

सडकको नयाँ ट्रयाकले खेतियोग्य जमिन सुख्खा

पठान टोलबासीको मुख्य पेसा नै कृषि हो । कृषिको माध्यामबाट जिविका चलाउँदै आएका स्थानीय पछिल्लो समयमा मारमा परेका छन् । खेतवारीमा मौसम अनुसारको तरकारी फलाउने र त्यही तरकारीलाई बजार लिएर वेचविखन गरेर जिविका चलाउँदै आएका थिए । २०७७ सालमा  बस्तीमा सबैभन्दा माथिल्लो स्थानबाट सडकको नयाँ ट्रयाक खोलिएपछी सिँचाइका लागि लगिएको कुलो मासियो । कुलो मासिएपछि स्थानीयलाई सिँचाइमा थप समस्या भएको छ ।

सोही बस्तीमा बस्ने ५६ वर्षीया टिकावती सुनारले केही समय अगाडी बच्चा बच्चीको पढाई र घरखर्च तरकारी बेचेर नै चलाउदै आउनुभएको थियो । घरमा आम्दानीको अरु स्रोत छैन्, उहाँले भन्नुभयो,‘ मेरो विहानीको सुरुवात नै तरकारीको डोको बोकेर सुरु हुन्थ्यो, बारीमा लगाइएको तरकारी वेचविखन गरेर घरखर्च चलाउन सजिलो भएको थियो, तर सिँचाइको कुलो मासिएपछि घरखर्च र बालबच्चाको पढाई खर्चको जोहो गर्न समस्या बढ्न थालेको छ ।’

पानीको स्रोत प्रयाप्त मात्रामा छ तर बस्तीभन्दा तल पानीको स्रोत भएका सिँचाइमा समस्या भएको छ । बस्ती भन्दा तलको पानी माथि घर सम्म ल्याउनका लगि विद्युतको आवश्यक पर्छ तर सो बस्तीमा विद्युतको आवश्यक भोल्टेज कम आउने भएका कारण स्थानीयले सिँचाइ गर्नबाट समेत वञ्चित भएका छन् । स्थानीयले विद्युत प्रधिकरणमा भोल्टेज बढाउनका लागि निवेदन पनि पेश गरेका थिए । तर प्राधिकरण वेवास्ता नगरेको स्थानीयको भनाइ छ ।

यता, विद्युत प्राधिकरण सुर्खेतका प्रमुख युवराज रावतले भोल्टेजको समस्या सुर्खेत जिल्लाभर रहेको बताउनुभयो । कोहोलपुर सुर्खेत एउटा मात्र लाइन भएकाले १३२ केभी भोल्टेज सुर्खेत आइपुग्दा २२ देखी २३ केभीमा परिवर्तन हुने भएकाले भोल्टेजको समस्या हुने गरेको उहाँको भनाइ छ । उक्त समस्या समाधानका लागि छिटो भन्दा छिटो १३२ केभी प्रशारण लाईन सञ्चालनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

४३ वर्ष देखी लालपुर्जा विहीन पठान टोलबासी

पठान टोलमा  रहेका अधिकासं स्थानियसँग जग्गाको लालपुर्जा छैन् । लालपुर्जाका लागि धेरै स्थानमा पहल गरेतापनि नागरिकले भने लालपुर्जा पाउन सकेका छैनन् । ६१ वर्षीय बलबहादुर कामी २०२४ सालमा दैलेखबाट बसाइसराई पठान टोलमा आएर बसोबास गर्दै आउनुभएको छ । जग्गा नापी भए पनि आफ्नो नामको लालपुर्जा मालपोत कार्यालयमा भए नभएको कुनै जानकारी समेत नभएको उहाँको भनाइ छ । जग्गा उपभोग गरी रहेको भए पनि आफ्नो हातमा कुनै प्रमाण नभए बताउँदै उहाँले जग्गाको प्रमाण आवश्यक परे देखाउन नसक्ने अवस्थामा रहेको बताउनुभयो । प्रमाण हातमा नभएको कारण व्यवहारिक रूपमा उपभोग गरेको जग्गा आफ्नो भए पनि कानुनी रूपमा त्यो भन्न नमिल्ने  अवस्था छ ।

यता भुमी आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले लालपुर्जाका लागि स्थानीय तहले पहल गनुपर्ने बताउनुभयो । स्थानीय तहले आवश्यक कागजपत्र बुझाउन सकेमा मात्र आयोगले लालपुर्जा वितरण गर्न सकिने उहाँको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिका नगर उपप्रमुख निलकण्ठ खनालले लालपुर्जा वितरणको लागि वीरेन्द्रनगर नपा –१४ बाट सुरु गरिएको बताउनुभयो । जग्गाका नापजाँच र आवश्यक कागजपत्रको प्रक्रिया पुरा गरि लालपुर्जा वितरणको लागि आयोगमा पठाउने उहाँले बताउनुभयो । पठान टालबासीका लागि पनि पालिकाले छिट्टै कामको सुरुवात गर्ने बताउनुभयो ।

Photo20230515Surkhet (3)

Photo20230515Surkhet (2)

Photo20230515Surkhet (1)

अन्य

भिडियो