आर्थिक अभावका कारण जीर्ण घरमा बस्न बाध्य हुनु भएका मिक्वाखोला गाउँपालिका–४ साँवाका ५५ वर्षीय सुरेश लिम्बूको परिवारलाई इन्सेकले सहयोग गरेको छ ।
आर्थिक अभावका कारण फुसको छानो मर्मत गर्न नसक्नु भएका सुरेश लिम्बूको परिवारलाई इन्सेकले त्रिपाल सहयोग गरेको हो । इन्सेकको सहयोगपछि वर्षाको समयमा घरमा पार्नी चुहिने समस्या समाधान हुने सुरेश लिम्बूले बताउनु भयो ।


संविधानको धारा २७ मा आवासको हक सम्बन्धी व्यवस्था छ ।
सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ ।
तर, मिक्वाखोला गाउँपालिका–४ साँवाका ५५ वर्षीय सुरेश लिम्बूको घर संविधानमा व्याख्या भए बमोजिमको उपयुक्त छैन् ।
आर्थिक अभावका कारण सुरेशले जीर्ण फुसको छानो (खर) भएको घर मर्मत गर्न सक्नु भएको छैन । पानी परेको बेला आधा घरभित्र र आधा घरबाहिर पोखिन्छ । झट्ट हेर्दा लाग्छ, कि बसाई सरेको हुनुपर्छ नत्र कोही बस्दैनन् । तर यथार्थचाहिँ आर्थिक अभावकै कारण छानो छाउन नसक्नु हो । ५५ वर्षीय सुरेशसहित उहाँकी पत्नी, दुई छोरा र दुई छोरी चुहिने घरमा बसिरहनु भएको छ ।
इन्सेककर्मी वैशाख २६ गते सुरेश लिम्बूको घरमा पुग्दा १४ वर्षीया छोरी माया लिम्बुले भन्नुभयो ‘ममी र दिदी काम जानुभा,छ । दुई जना दाई पनि काममै जानुभा,छ । बुवाचाहिँ बाहिर बाहिरै हिड्नुहुन्छ ।’ बुवाको भर नभएको र आमासहित छोराछोरीको ज्याला मजदुरीमा घरव्यवहार चलेको छ ।
छानो छाउन नसक्दा न त घामपानी छेकिन्छ न त हावाहुरी नै । सुरेशकी पत्नीले भन्नुभयो्,‘पानी पर्दा त चुलोभित्रै पस्छ । लत्ता कपडा र अन्न भिज्छ । सुत्न त के पकाएर खान समेत समस्या हुन्छ ।’
गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले चालु आर्थिक वर्षभित्र जस्ता खरिद गर्न बजेट विनियोजन गरेको बताउनु भयो ।
अध्यक्ष कार्कीले भन्नुभयो,‘५ वर्षसम्म अघिल्लो स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिन सकेन् । हामी यहि चालु आर्थिक वर्षमा खरिद गरिदिन्छौ ।’
सुरेश लिम्बूकै जस्तै मिक्वाखोला गाउँपालिकाभित्र १८ ओटा घरपरिवारका लागि जस्ता खरिद गर्न कार्यक्रम स्वीकृत गरिएको छ ।
सङ्घीय सरकारको जनता आवास कार्यक्रम अन्र्तगत जस्ताको छानाका लागि प्रति घर ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय सरकारको छ ।
तर, निर्णय कार्यान्वन प्रभावकारी नहुँदा सुरेश लिम्बूजस्ता विपन्न परिवार आवासको अधिकारबाट वञ्चित हुनु परेको छ ।