दुधौली नगरपालिका-४ डकाहा बजारकी २८ वर्षीया कल्पना सदा न्यायका लागि अदालत धाएको ६ वर्ष भइसक्यो तर न्याय पाउन सक्नु भएको छैन् । पति दीलिप महत्तोसँग अङ्श माग गर्दै जिल्ला अदालतमा ०७३ चैत ६ गते मुद्दा दर्ता गराउनु भएको थियो ।
पतिले लालन पालनमा वेवास्था गरेपछि छोराको पालन पोषण, शिक्षासँगै आफूलाई अङ्शको माग गर्दै उहाँले मुद्दा दर्ता गरेको भएपनि हाल सम्म न्याय पाउन नसकेको गुनासो गर्नुभयो ।
जिल्ला अदालतमा पति दिलप महत्तोविरूद्ध ०७६ वैशाख ११ गते लिखित बदर र जालसाची मुद्दा र ०७९ मङ्सिर २४ गते माना चामल सम्बन्धि मुद्दा दर्ता गराउनु भएको थियो ।
आफू र छोरालाई लालन पालनमा वेवास्था गरेका दिलिपले दोस्रो विवाह गरेपछि जिल्ला अदालत धनुषामा बहुविवाहको मुद्दा दर्ता गराउनु भएको थियो ।
प्रहरीले पतिलाई बहुविवाहको आरोपमा गिरफ्तार गर्न नसकेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो ‘न मेरो विवाह दर्ता छ न छोराको जन्म दर्ता नै छ । छोरो नौ कक्षा पढ्छ, विद्यालयले जन्मदर्ता माग्छ मैले कहाँबाट ल्याउनु, छोरा पढाउने पैसाको अभाव छ, न्यायको माग गर्दा गर्दै वर्ष बिते मैले कहिले न्याय पउँछु थाहा छैन’ भन्दै उहाँले न्यायका लागि पहल गरिदिन इन्सेकलाई आग्रह गर्नुभयो ।
आफ्नो विवाह दर्ता, छोराको जन्मदर्ता र आफ्नो लालन पालन पति दिलिपले गर्नु पर्ने उहाँको माग रहेको छ ।
उहाँको छोराको जन्म दर्ताको लागि गृह मन्त्रालयको ०७९ चैत २२ गतेको निर्णय अनुसार आमाको नामबाट पनि जन्मदर्ता बनाउन पाउने निर्णयलाई स्मरण गराई सहयोगको लागि सम्बन्धित निकायमा पहल गर्ने इन्सेकले जनाएको छ ।