प्राथामिक स्वास्थ्य केन्द्र, कोल्टीमा स्वास्थ्य बीमा कार्यक्रम लागु नहुँदा त्यस क्षेत्रका नागरिकहरुले सास्ती खेप्नु परेको छ ।
स्वास्थ्य बीमा बोर्डको वइभसाइडमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बीमा लागु भएको स्वास्थ्य संस्थाका रुपमा रेकर्ड रहेको छ । तीन वर्षदेखि सेवा सञ्चालनमा रहेको भएपनि सेवा अहिलेसम्म सञ्चालन हुन सकेको छैन् ।
जिल्लाको बुढिनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकालगायत कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तहका स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम कागजमा मात्र सिमित भएको स्थानीय जनम धामीले बताउनु भयो ।
जिल्लाका पाँच स्थानीय तहका लागि सदरमुकामको जिल्ला अस्पताल र पूर्वोत्तरका चार स्थानीय तहका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु भनिएको छ । स्वास्थ्य बीमा गरेपछि अस्पतालका बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, शल्यक्रिया र सूचिकृत औषधि निशुल्क पाउने व्यवस्था छ ।
घातक रोगको उपचारमा सजिलो हुने ठानेर यहाँका अधिकांश नागरिक बीमा कार्यक्रममा सहभागि पनि भए । तिनैमध्येका एक हुन् बुढिनन्दा नगरपालिका–१ का गंगाराम लुहार । गाउँमै स्वास्थ्य बीमा गर्न आएका बीमाका कर्मचारीबाट दुई वर्ष पहिले स्वास्थ्य बीमा गराएका लुहारले कुनै सुविधा पाउन सकेनन् । लाभ नपाएपछि उनले दोस्रो पटक बीमा नविकरण पनि गरेका छैनन् । गंगाराम अतिगरिबको सूचिमा सूचिकृत परिवारका सदस्य हुन् । अति गरिब परिवारका सदस्यहरुलाई स्वास्थ्य बीमाको शुल्क लाग्दैन ।
मृगौला पीडित गंगारामले दुखाई कम गर्ने औषधि समेत किनेर खानु परेको छ । कोल्टीबाट सदरमुकाम मार्तडी पुग्न एक दिन लाग्छ । बल्लतल्ल पुगे पनि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बीमा कार्डबाट सेवा नपाएको उहाँको गुनासो छ ।
बीमा कार्यक्रम लागु हुँदा कार्यक्रममा सहभागि पाँच जना सदस्य भएको परिवारले वर्षमा बढीमा १ लाख रुपियाँ बराबरको उपचार निःशुल्क पाउने भनिएको थियो । तर, अहिलेसम्म सम्पूर्ण उपचार खर्च आफैंले ब्यहोर्नु परिररहेको बुढिनन्दाका हलिया अगुवा मनबीर सार्कीले गुनासो गर्नु भयो ।
अति गरिब परिवारका सदस्यहरुले स्वास्थ्य बीमाका लागि रकम बुझाउनु नपर्ने भएपनि अन्यको हकमा पाँच जना सदस्य भएको परिवारले ३ हजार ५ सय रुपियाँ बुझाएका छन् । पाँच जना भन्दा बढी सदस्य भएको परिवारका हकमा थप एक ब्यक्ति बराबर ७ सय रुपियाँ अतिरिक्त बुझाउनु पर्छ । यसो गरेपछि प्रतिव्यक्ति २० हजारसम्मको निःशुल्क उपचार हुने, सेवा पाउँदा पाँच परिवार भएमा १ लाख, पाँच जना भन्दा बढी भएमा प्रतिव्यक्ति थप २० हजारका दरले सेवा पाउँछन् ।
बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहोराले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न अन्तिम तयारी भइरहेको बतउनु भयो । उहाँले केन्द्रबाट सबै प्रक्रिया पुगाएर सञ्चालनमा आउने तयारी रहेको जानकारी दिनु भयो ।
बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बीमा सेवा सञ्चालन गर्नका लागि फार्मेसी तथा इन्टरनेटको व्यवस्थापन आवश्यक हुने भएकोले यसको व्यवस्थापन हुन नसकेका कारण बीमा सेवा सञ्चालनमा ढिलाई भएको बताउनु भयो ।
उहाँले हाल फार्मेसी र इन्टरनेट सेवाको व्यवस्थापन भइसकेका कारण एक महिना भित्रै बीमा सेवा सञ्चालनमा आउने समेत बताउनु भयो ।
स्वास्थ्य बीमा ऐन २०७४ र राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार बीमा बोर्डले २०७६ जेठ १ गते कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुका रुपमा राखेर जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो ।