INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको अभावले स्थानीय समस्यामा

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा अहिले खानेपानीको चरम अभाव छ ।

धम्जाका अधिकांश गाउँमा एक घर एक धारा निर्माण भएर खानेपानीको सहजता भइरहदा समेत देउरालीमा खानेपानीको अभाव कायमै रहेको छ ।

भौगोलिक हिसावले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मुलहरू बस्तीभन्दा तल भएका कारण २० घरमा वर्षौ देखि खानेपानीको पहुँच पुग्न नसकेको हो ।

धम्जा देउरालीका जनतालाई खानेपानीको सुविधा दिनका लागि सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनीको मुलबाट खानेपानी ल्याइएपनि उक्त आयोजना एक महिना समेत टिक्न नसकेको स्थानीयको भनाई छ ।

प्राविधिक त्रुटीका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि खानेपानीको अभाव पुन भएको स्थानीय प्रेमस्वरी श्रेष्ठले बताउनुभयो ।

“देउरालीमा २० घर होलान, खानेपानीको अभाव अहिलेको हैन, तर खानेपानीको समस्या समाधानका लागि दुई वर्ष अघि मात्रै सम्पन्न भएको सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै विग्रियो” श्रेष्ठले भन्नुभयो “प्राविधिक कमजोरीका कारण लिफ्ट आयोजना बिग्रिएको भन्ने सुन्नमा आउछ, १४ लाखको योजना १४ दिन टिकेट, हामीलाई खानेपानीको अभाव अहिले सम्म टर्न सकेको छैन, देउरालीका सबै घरमा खानेपानीको धारा छ, तर खानेपानी छैन, अहिले दिनको दुई घण्टा मात्रै पानी आउछ, सङ्कलन गरेर खाने र सरसफाई गर्ने गरेका छौं ।” उहाँले भन्नुभयो ।

काठेखोला गाउँपालिकाले दुई वर्ष अघि मात्रै १४ लाख ५० हजारको लागतमा देउरालीमा खानेपानीको अभाव टार्नका लागि सोलार लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेपनि प्राविधिक हिसावले सञ्चालनमा आउन नसकेको सोलार लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष यम बहादुर रोकाले बताउनुभयो ।

“धम्जामै खानेपानीको चरम अभाव देउरालीमा मात्र हो, धम्जाका आधा दर्जन गाउँमा अहिले एक घर एक धाराले सहज बनाएको छ, यहाँ समेत घर–घरमा खानेपानीको धारा छ, तर पानी थोरै आउछ, सोलार लिफ्ट आयोजना सम्पन्न भएपनि सञ्चालनमा आउन सकेन, एक महिना पानी तान्यौ, सबैलाई पानी पुगेकै थियो त्यस पछि बिग्रियो, पुन मर्मत गरेपनि चट्याङले मोटरमा क्षती पुर्‍याउदा दुई वर्ष देखि लिफ्ट आयोजना अलपत्र परेको छ ।” रोकाले भन्नुभयो ।

लिफ्ट आयोजना मर्मतका लागि काठेखोला गाउँपालिकामा पहल गरिरहेको रोकाको भनाई छ ।

एक पटक गाउँपालिकाले विग्रिएको मोटर मर्मत गरेपनि पुन चट्याङका कारण लिफ्ट आयोजनामा क्षति पुगेको स्थानीय इश्वर श्रेष्ठले बताउनुभयो  ।

अहिले देउरालीमा असौजे र कालठुटेको मुलबाट आएको पानी दुइवटा ट्याङ्कीमा जम्मा गरेर घर–घरमा वितरण भइरहेको छ ।

वर्षायाममा खानेपानी पुग्ने भएपनि हिउँद याममा दुइवटा मुलबाट ल्याइएको पानीले नपुग्नु र सोलार लिफ्ट खानेपानी योजना अलपत्र पर्दा यहाँका स्थानीलाई समस्या भएको श्रेष्ठको भनाई छ ।

देउरालीमा खानेपानी ल्याउनका लागि बस्ती मुनीको देउरालीखोला मुहानको पानी सोलार लिफ्ट योजना मार्फत झण्डै तीन सय मिटर माथी तानेर घर–घरमा पु¥याइएको थियो ।

पटक–पटक प्राविधिक त्रुटी देखिने र चट्याङका कारण क्षती पुगेपछि स्थानीयले लिफ्ट आयोजनाको मर्मतमा चासो समेत देखाएका छैनन् ।

धम्जामा खानेपानीको अभाव टार्न एक घर एक धारालाई अन्तिम चरणमा पु¥याएको वडा अध्यक्ष कुलबहादुर बिकले बताउनुभयो । उहाँले देउरालीमा पुनः नयाँ मुलको पानी थपेर एक घर एक धारा निर्माण गर्नेगरी काम थालिने बताउनुभयो ।

उहाँले अहिले धम्जालाई नै एक घर एक धारा गाउँ बनाउने अभियान अन्तर्गत ठूला मुलहरू एकिकृत गरेर खानेपानीको अभाव भएको स्थानमा लैजाने गरी गाउँपालिका र वडा कार्यालयले तयारी गरेको बताउनुभयो ।

“लिफ्ट आयोजना खर्चिलो रहेछ भन्ने स्थानीयको गुनासो छ, प्राविधिक त्रुटीका कारण देउरालीमा लिफ्ट आयोजना नचलेपछि मुहानकै खानेपानी वितरण गरेका छौं तर अपुग छ, अहिले पुनः नयाँ मुल थपेर ठूलो ट्याङ्की बनाएर सन्तुलीत वितरण गरेपछि खानेपानीको अभाव टर्ने छ” वडा अध्यक्ष बिकले भन्नुभयो “धम्जा वडा कार्यालले देउरालीलाई खानेपानीको व्यवस्थापनका लागि उच्च प्राथमिकतामा राखेको छ ।”

अन्य

भिडियो