INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यक्तिगत घटना दर्ता सप्ताह : उदयपुरमा सकारात्मक, १३ जिल्लामा प्रभावहीन

सन् २०२४ सम्म जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने लक्ष्यका साथ सरकारले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएको छ ।

जन्म, मृत्यु, बसाइसराई, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ताका लागि सप्ताह मनाइए पनि कोशी प्रदेशका १४ जिल्लामध्ये उदयपुरबाहेक अन्य जिल्लामा सप्ताह प्रभावकारी हुन नसकेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

०८० वैशाख १ गतेदेखि ७ गतेसम्म देशभर व्यक्तिगत घटना दर्ता सप्ताह सम्पन्न भएको छ । नेपालमा २०३४ वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता सप्ताह मनाइँदै आइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म देशव्यापी रूपमा मनाइएको व्यक्तिगत घटना दर्ता सप्ताह कोशी प्रदेशमा प्रभावहीन भएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

कोशी प्रदेशका १४ ओटा जिल्लाका १ हजार १ सय ७५ ओटा वडामा शिविरमार्फत व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिनु पर्ने भएपनि इन्सेक अनुगमनका क्रममा अधिकांश स्थानीय तहले शिविर सञ्चालन नगरेको पाइएको छ ।

एक ओटा महानगरपालिका, दुई ओटा उपमहानगरपालिका, ४६ ओटा नगरपालिका र ८८ ओटा गाउँपालिका गरी १ सय ३७ ओटा स्थानीय तह रहेको कोशी प्रदेशमा व्यक्तिगत घटना दर्ता सप्ताह प्रभावहीन देखिएको छ ।

व्यक्तिगत घटना दर्ता गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको मानव अधिकारविज्ञ कोषराज न्यौपानेको भनाइ छ ।

नागरिकलाई घटना दर्ता गरी राज्यबाट उपलब्ध हुने सेवा सुविधा लिनका लागि सरकारले व्यक्तिगत घटना दर्तालाई अनिर्वाय गरेको छ ।

नागरिकलाई राज्यले विभिन्न सेवा सुविधा उपलब्ध गराउनु मानव अधिकारको विषय भएकाले व्यक्तिगत घटना दर्ताको विशेष महत्व रहने मानव अधिकारविज्ञ न्यौपानेले बताउनु भयो । उहाँले सङघीयतापछि व्यक्तिगत घटनाका लागि केन्द्र सरकार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सङघीय सरकारले स्थानीय तहहरूलाई व्यक्तिगत घटना दर्ताका व्यवहारिक कठिनाइको समाधानका लागि विभिन्न परिपत्र गरेपनि त्यसको उचित कार्यान्वयनमा स्थानीय तहहरू चुक्दा सरकारले सन् २०२४ सम्म लिएको लक्ष्य प्राप्तिमा कठिनाइ हुने मानव अधिकारविज्ञ न्यौपानेको भनाइ छ ।

जन्म, मृत्यु, बसाइसराई, विवाह र सम्बन्धविच्छेद जस्ता घटनालाई सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा दर्ता गराउने प्रक्रियालाई सरकार व्यक्तिगत घटना दर्ताका रूपमा परिभाषित गरेको छ ।

जन्म, मृत्यु, तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी सरकारले २०३३ कात्तिक ४ गते व्यक्तिगत घटना दर्ता ऐन जारी गरेको छ ।

photo 2023427 Morang

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा व्यक्तिगत घटना दर्ता सप्ताह अवधिमा न्यून मात्रामा व्यक्तिगत घटना दर्ता भएको पाइएको छ । स्थानीयहरूले शिविर सञ्चालन गर्नु पर्ने भएपनि अभियान स्थानीय तहको प्राथमिकतामा नपर्दा व्यक्तिगत घटना दर्ता सप्ताह जिल्लामा प्रभावहीन भएको छ ।

व्यक्तिगत घटना दर्ताको महत्व बुझ्न र बुझाउन  समयमै व्यक्तिगत घटना दर्ता नहुने गरेको पाइएको छ । जिल्लामा समयमै घटना दर्ता गर्नेको संख्या न्यून रहेको जिल्लाका स्थानीय तहहरूले जनाएका छन् । विराटनगर महानगरपालिकाकी सूचना अधिकारी अनिता न्यौपानेले समयमै व्यक्तिगत घटना दर्ता गर्नुपर्छ भन्ने बुझ्न र बुझाउन नसक्दा घटना दर्ता नहुने गरेको बताउनु भयो । न्यौपानेले विराटनगर महानगरपालिकाले वेला–वेलामा सचेतनामूलक कार्यक्रम गरेर समयमै व्यक्तिगत घटना दर्ता गर्दाका फाइदाबारे बुझाउने प्रयास गरीरहेको बताउनु भयो ।

०८० वैशाख १ देखि ७ गतेसम्म महानगरपालिकाका १९ ओटै वडामा सप्ताह सञ्चालन गरिएको सूचना अधिकारी न्यौपानेको भनाइ छ । धेरैजसो घटना ३५ दिनपछि दर्ता हुने र कतिपयले काम परेको वेला मात्रै घटना दर्ता गर्न आउने गरेको पाइएको सूचना अधिकारी न्यौपानेले बताउनु भयो । वैशाख १ देखि ७ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा विराटनगर महानगरपालिकामा २ सय १८ ओटा घटना दर्ता भएका छन् । जसमा ८६ जनाको जन्मदर्ता गरिएको छ । जन्मदर्ता गरिएका मध्ये ३७ जना बालक र ४९ जना बालिका छन् । यस्तै १९ जनाको मृत्यु दर्ता गरिएको छ । जसमा १० जना पुरुष र नौ जना महिला छन् । सात दिनमा चार ओटा सम्बन्धविच्छेद र ५० ओटा विवाह दर्ताका घटना दर्ता भएका छन् । वसाइसरी आएको ३० र वसाई सरी गएको २९ ओटा घटना दर्ता भएका छन् ।

सुन्दरहरैंचा नगरपालिकामा ०८० वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्मको अवधिमा १ सय ४२ ओटा घटना दर्ता भएका छन् । जसमा ५८ ओटा जन्म दर्ता गरिएकोमा २९ जना बालिका र २९ जना बालक छन् । पुरुष ६, महिला आठ गरी १४ जनाको मृत्यु दर्ता गरिएको छ । सम्बन्ध विच्छेदका सात, विवाहका १७, वसाईसरी आएका ३७ र वसाईसरी गएका नौ ओटा घटना दर्ता भएको सुन्दरहरैंचा नगरपालिकाका आइएमएस् अपरेटर पुस्कल गौतमले बताउनु भयो । देशैभर वैशाख १ गतेदेखि ७ गतेसम्म घटना दर्ता सप्ताह मनाइएको भए पनि जिल्लाका केही स्थानीय तहले वैशाख १० गतेसम्म अभियान सञ्चालन गरेको जनाएका छन् ।  वैशाखमा धेरै दिन विदा परेका कारण कटहरी गाउँपालिकाले वैशाख १० गतेसम्म नै अभियान चलाएको गाउँपालिकाका एमआइएस् अपरेटर मुकेशकुमार मण्डलले बताउनु भयो ।

उर्लावारी नगरपालिकामा व्यक्तिगत घटना सप्ताह अवधिमा जन्मदर्ता ४८ ओटा, मृत्यु दर्ता नौ ओटा, बसाइसराई ३६ ओटा, विवाह दर्ता १८ ओटा र सम्बन्ध विच्छेदका चार ओटा घटना दर्ता भएको नगरपालिकाका सूचना अधिकारी भरत अधिकारीले बताउनु भयो । धनपालथान गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताहमा जन्मदर्ता ३१ ओटा, मृत्यु दर्ता तीन ओटा, विवाह दर्ता नौ ओटा, बसाइसराई एक ओटा घटना दर्ता भएका छन् । सम्बन्ध विच्छेदका घटना दर्ता नभएको धनपालथान गाउँपालिकाका सूचना अधिकारी अशोककुमार साहले बताउनु भयो । व्यक्तिगत घटना दर्ता सप्ताह अवधिमा हरेक वडावडामा शिविर सञ्चालन गर्नुपर्ने भएपनि कुनै पनि स्थानीय तहले शिविर सञ्चालन नगरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

मोरङका १७ ओटै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिएको भनिए पनि अभियान अवधिभर कति घटना दर्ता भए भन्ने सबै स्थानीय तहसँग एकीकृत विवरण भने पाउन सकिएन ।

ओखलढुङ्गाका प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा व्यक्तिगत घटना दर्ता सप्ताह सम्पन्न गरिएको छ । घटना दर्ता सम्बन्धी अभिमुखीकरण, फ्लेक्स वितरण सामुदायिक रेडियोहरुमार्फत सूचना प्रचारप्रसार गरी सप्ताह मनाएको छ । नेपालमा विसं २०३४ वैशाख १ गतेदेखि जन्म,मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन,२०३३ को कार्यान्वयनसँगै व्यक्तिगत घटना दर्ता कार्यको सुरुआत भएको हो । व्यक्तिगत घटना दर्ता कार्यलाई थप व्यवस्थित बनाउन अहिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन,२०७६ कार्यान्वयनमा छ । व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि जन्म,मृत्यु, विवाह, बसाइसराई र सम्बन्ध विच्छेदलगायतका व्यक्तिगत घटनाहरु घटना भएको ३५ दिनभित्र आफ्नो वडा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । जिल्लामा ०८० वैशाख १ गतेदेखि ७ गतेसम्म सप्ताह अवधिभरमा ३ सय ८० ओटा व्यक्तिगत घटना दर्ता भएका छन् । ०७९ चैत २० गतेदेखि २७ गतेसम्म जिल्लामा २ सय ६१ ओटा व्यक्तिगत घटना दर्ता भएको थिए ।

जिल्लाका आठ ओटा स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिकामा ५८ ओटा घटना दर्ता भएका छन् । जन्मदर्ता ३९ ओटा, मृत्युदर्ता चार ओटा, विवाह दर्ता १२ ओटा र बसाईसराइका तीन ओटा घटना दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताउनु भयो । अघिल्लो महिनाको चैत २० गतेदेखि २७ गतेसम्म नगरपालिकामा ४९ ओटा घटना दर्ता भएको अधिकृत लम्सालको भनाइ छ । अधिकृत लम्सालका अनुसार ७ दिनमा २४ ओटा जन्मदर्ता, एक ओटा सम्बन्धविच्छेद, विवाह दर्ता १४ ओटा र बसाइसराईका तीन ओटा घटना दर्ता भएका छन् । मानेभञ्ज्याङ गाउँपालिकामा यस अवधिमा ३० ओटा घटना दर्ता भएका छन् । जसमा जन्मदर्ताका २० ओटा, मृत्युदर्ताका पाँच ओटा, विवाहदर्ताका तीन र बसाइसराईका दुई ओटा रहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताउनु भयो । गत महिनाको चैत २० देखि २७ सम्मको अवधिमा ४५ ओटा घटना दर्ता भएको अधिकृत राइको भनाइ छ । जसमा जन्मदर्ता २५ ओटा, मृत्युदर्ता ६ ओटा, सम्बन्धविच्छेद एक ओटा, विवाह दर्ताका आठ ओटा र बसाइसराईका पाँच ओटा घटना दर्ता भएको गाउँपालिकाले जनाएको छ ।

चम्पादेवि गाउँपालिकामा सप्ताह अवधिमा ४७ ओटा घटना दर्ता भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीले बताउनु भयो । उहाँका अनुसार ३२ ओटा जन्मदर्ता, ६ ओटा मृत्युदर्ता, सात ओटा विवाह दर्ता र बसाइसराईका दुई ओटा घटना दर्ता भएका छन् । यस भन्दा अघिल्लो महिनाको सात दिनलाई हेर्ने हो भने जम्मा नौ ओटा मात्र घटना दर्ता भएको देखिन्छ । जसमा जन्मदर्ता ६, विवाह दर्ताका दुई ओटा र एक ओटा बसाइसराईको घटना दर्ता भएको प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो ।

चिशंखुगढी गाउँपालिकामा सप्ताह अवधिमा ४७ ओटा घटना दर्ता भएका छन् । सात दिनमा गाउँपालिकामा जन्मदर्ता ३२ ओटा, मृत्युदर्ता सात ओटा, विवाह दर्ताका आठ र बसाइसराईका एक ओटा घटना दर्ता भएको प्रशासकीय अधिकृत लोकमणि खनालले बताउनु भयो । ०७९ चैत २० गतेदेखि २७ गतेसम्मको अवधिमा  ४४ ओटा घटना दर्ता भएको खनालले बताउनु भयो । उहाँका अनुसार जन्मदर्ता ३८ ओटा, मृत्यु दर्ताका तीन ओटा, विवाह दर्ताका तीन ओटा र बसाइसराईका एक ओटा घटना दर्ता भएका छन् । खिजिदेम्बा गाउँपालिकामा यस अवधिमा २६ ओटा व्यक्तिगत घटना दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजन मगरले बताउनु भयो । उहाँका अनुसार जन्मदर्ता २० ओटा, मत्यृदर्ता दुई ओटा र विवाह दर्ताका चार ओटा घटना दर्ता भएका छन् । यस ०७९ चैत २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ ओटा घटना दर्ता भएको गाउँपालिकाले जनाएको छ । जसमा जन्मदर्ता १३ ओटा, मृत्युदर्ता चार ओटा, विवाह दर्ता सात र बसाइसराईका एक ओटा घटना दर्ता भएको प्रशासकीय अधिकृत मगरले बताउनु भयो ।

सुनकोशी गाउँपालिकामा ०८० वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म १ सय १६ ओटा घटना दर्ता भएका छन् । जन्मदर्ता ७४ ओटा, मृत्युदर्ता ३७ ओटा, विवाहदर्ता ३४ ओटा र बसाइसराईका पाँच ओटा घटना रहेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनु भयो । ०७९ चैत २० गतेदेखि २७ गतेसम्मको अवधिमा ३२ ओटा व्यक्तिगत घटना दर्ता भएका थिए । जन्मदर्ता १८ ओटा, मृत्युदर्ता १० ओटा र बसाइसराईका चार ओटा घटना दर्ता भएको प्रशासकीय अधिकृत कार्कीले बताउनु भयो ।

मोलुङ गाउँपालिकामा अभियान अवधिमा ३६ ओटा घटना दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत सरोज थापाले बताउनु भयो । जसमा २५ ओटा जन्मदर्ता, तीन ओटा मृत्युदर्ता र सम्बन्ध विच्छेदका एक ओटा घटना दर्ता भएका छन् । गत चैत महिनाको सोही अवधिमा ३८ ओटा घटना दर्ता भएको उहाँले बताउनुभयो । जसमा जन्मदर्ता २७, मृत्युदर्ता तीन, सम्बन्धविच्छेद दुई, विवाहदर्ता पाँच र बसाइसराईका एक ओटा घटना दर्ता भएका छन् ।

लिखु गाउँपालिकामा वैशाख १ गतेदेखि ७ गतेसम्मको अवधिमा २० ओटा घटना दर्ता भएका छन् । जसमा १२ ओटा जन्मदर्ता,पाँच ओटा मृत्युदर्ता र तीन ओटा विवाह दर्ताका घटना दर्ता भएको गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बताउनु भयो । अघिल्लो महिनाको यहि अवधिमा १९ ओटा घटना दर्ता भएका थिए । जसमा जन्मदर्ता १२ ओटा,मृत्युदर्ता दुई ओटा र विवाह दर्ताका पाँच ओटा घटना छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा व्यक्तिगत घटना दर्ताका विषयमा सर्वसाधारणलाई घटना दर्ताको महत्व बुझाउन नसक्दा ०८० वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म मनाइएको व्यक्तिगत घटना दर्ता सप्ताह प्रभावकारी हुन सकेको छैन ।

मानव अधिकारकर्मी कविता शर्माले झापालाई सुगम क्षेत्रका रूपमा लिने गरिएको भएपनि व्यक्तिगत घटना दर्ताका विषयमा अझै सर्वसाधारणलाई सचेतना अपुग भएको छ । शर्माले सङ्घीयता कार्यान्वयनका क्रममा वडावडामा निर्वाचित वडाध्यक्षसहित वडा सदस्यहरू प्रशस्त भएपनि व्यक्तिगत घटना दर्ताको महत्व सर्वसाधारणमा पुग्न नसकेको बताउनु भयो । सप्ताह अवधिमा हरेक स्थानीय तहहरुले शिविर सञ्चालन गर्नु परेपनि शिविर सञ्चालन भने नगरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

गौरीगञ्ज गाउँपालिका ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता २२ ओटा, मृत्यु दर्ता सात ओटा, विवाह पाँच ओटा र  बसाइसराइका दुई ओटा घटना दर्ता भएका छन् । वैशाख १ गते देखि ७ गतेसम्म जन्मदर्ता २३, सम्बन्ध विच्छेद एक, विवाह दर्ता ६ र बसाइसराईका ६ ओटा घटना दर्ता भएका छन् । बाहृदशी गाउँपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता २४, मृत्यु ६, विवाह १५ र बसाइसराइका ६ ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता २७, मृत्यु सात, सम्बन्ध विच्छेद एक, विवाह चार र बसाइसराइका तीन ओटा घटना दर्ता भएका छन् ।

झापा गाउँपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता २७, मृत्यु ६ , सम्बन्धविच्छेद तीन, विवाह १७ र बसाइसराइका आठ ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता ३६, मृत्यु आठ, सम्बन्धविच्छेद दुई, विवाह  दर्ताका नौ र बसाइसराइ १६ ओटा घटना दर्ता भएका छन् । कनकाइ नगरपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता ४४, मृत्यु नौ, सम्बन्धविच्छेद दुई, विवाह दर्ता १८ र बसाइसराइ २२ ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता २७, मृत्यु पाँच, सम्बन्धविच्छेद दुई, विवाह दर्ताका नौ र बसाइसराइका १६ ओटा घटना दर्ता भएका छन्

विर्तामोड नगरपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता ४२, मृत्यु १४, सम्बन्धविच्छेद तीन, विवाह १८ र बसाइसराइका ३८ ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता ४६, मृत्यु १५, सम्बन्धविच्छेद तीन,  विवाह दर्ताका २० र बसाइसराइका १४ ओटा घटना दर्ता भएका छन् कचनकवल गाउँपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता ३२, मृत्यु सात, विवाह १४ र बसाइसराइका दुई ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता २५, मृत्यु सात, सम्बन्धविच्छेद एक, विवाह दर्ता तीन र बसाइसराइका एक ओटा घटना दर्ता भएका छन् ।

दमक नगरपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता ४७, मृत्यु १०, सम्बन्धविच्छेद तीन, विवाह दर्ताका २२ र बसाइसरााइ ३९ ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता ३६, मृत्यु १८, सम्बन्धविच्छेद तीन, विवाह १७ र बसाइसराइ १७ ओटा घटना दर्ता भएका छन् । मेचीनगर नगरपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता ६५ ,मृत्यु २०, सम्बन्ध विच्छेद चार, विवाह ३२ र बसाइसराइका १६ ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता ५७, मृत्यु १३, सम्बन्धविच्छेद एक, विवाह दर्ता २३ र बसाइसराइका १७ ओटा घटना दर्ता भएका छन् ।

भद्रपुर नगरपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता ४२, मृत्यु आठ, सम्बन्धविच्छेद चार, विवाह दर्ताका २५ र बसाइसराइका १६ ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता ३७, मृत्यु चार, सम्बन्धविच्छेद चार, विवाह २१ र बसाइसराइ १३ ओटा घटना दर्ता भएका छन् । वद्धशान्ति गाउँपालिकामा ०७९ चैत २३ गतेदेखि ३० गतेसम्म जन्मदर्ता १०, मृत्यु दर्ताका दुई ओटा, विवाह दर्ताका दुई ओटा र बसाइसराइका तीन ओटा घटना दर्ता भएका छन् । वैशाख १ गतेदेखि ७ गतेसम्म जन्मदर्ता ६८, मृत्यु तीन, विवाह दर्ताका  एक र बसाइसराइका ६ ओटा घटना दर्ता भएका छन् ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लाका दुई ओटा स्थानीय तहले मात्र व्यक्तिगत घटना दर्ता सप्ताहका लागि अभियान सञ्चालन गरेका छन् । घटना दर्ता सप्ताहमा जिल्लाभर न्यून मात्रमा व्यक्तिगत घटना दर्ता भएको पाइएको छ । सरकारले वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सञ्चालन गरेपनि स्थानीय तहले बेवास्ता गर्दा जिल्लामा सप्ताह प्रभावहीन देखिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान मनाएको थियो । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराइजस्ता व्यक्तिगत घटना दर्ता गर्दै घटना भएको ३५ दिनभित्र दर्ता गराउन आग्रह गरिएको थियो । जिल्लाको चैनपुर र खाँदबारी नगरपालिकाले मात्र व्यक्तिगत घटना दर्ता सप्ताहमा अभियान सञ्चालन गरेका छन् । जिल्लाका १० ओटा स्थानीय तहमध्ये चैनपुर नगरपालिकाले मात्र अभियान सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले बताउनु भयो । नगरभित्रका माध्यमिक विद्यालयहरूमा पुगेर व्यक्तिगत घटना दर्ताका बारेमा जनचेतना कार्यक्रम गरिएको ढकालले बताउनु भयो । चैनपुर नगरपालिकाले वडास्तरसम्म पर्चा पम्पेल्ट वितरण गरेको प्रशासकीय अधिकृत ढकालले बताउनु भयो । चैनपुरमा नगरपालिकामा गएको चैत २० देखि २७ गतेसम्म ५७ वटा घटना दर्ता भएका छन् । वैशाखको पहिलो साता चैनपुर नगरपालिकामा जन्म १४ ओटा, मृत्यु चार ओटा, सम्बन्धविच्छेद दुई ओटा, विवाह दर्ता १५ ओटा, बसाइ सरी आएका दुई ओटा र बसाइ सरी गएका दुई ओटा घटना दर्ता भएको प्रशासकीय अधिकृत ढकालले बताउनु भयो ।

खाँदबारी नगरपालिकामा ०८० वैशाखको पहिलो साता ४५ ओटा  घटना दर्ता भएका छन् ।  खाँदबारीमा नगरपालिकामा गएको चैत २० देखि २७ गतेसम्म ५० वटा घटना दर्ता भएका थिए । खाँदबारीमा गएको चैत २० देखि २७ सम्म जन्म १८ ओटा, मृत्यु ११ ओटा, सम्बन्धविच्छेद एक ओटा, विवाह दर्ताका नौ ओटा, बसाइ सरी आएका ६ वटा र बसाइ सरी गएका पाँच ओटा घटना दर्ता भएका छन् । वैशाखको पहिलो साता खाँदबारी नगरपालिकामा जन्म २६ ओटा, मृत्यु चार ओटा, विवाह दर्ता ११ ओटा, बसाइ सरी आएका दुई ओटा र बसाई सरी गएका दुई ओटा घटना दर्ता भएको खाँदबारीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताउनु भयो ।

धर्मदेवीमा नगरपालिकामा वैशाखको पहिलो साता २८ ओटा  घटना दर्ता भएका छन् ।  धर्मदेवीमा नगरपालिकामा गएको चैत २० देखि २७ गतेसम्म २७ ओटा घटना दर्ता भएका छन् । वैशाखको पहिलो साता धर्मदेवीमा नगरपालिकामा जन्म १७ ओटा, मृत्यु ३ ओटा, विवाह दर्ताका दुई ओटा, बसाइ सरी आएका एक ओटा घटना दर्ता भएको नगरपालिकाका मेयर उदयचन्द्र पौडेलले बताउनु भयो ।

सभापाखेरी गाउँपालिकामा वैशाखको पहिलो साता २२ ओटा  घटना दर्ता भएका छन् ।  सभापाखेरी गाउँपालिकामा गएको चैत २० देखि २७ गतेसम्म २५ ओटा घटना दर्ता भएका छन् । वैशाखको पहिलो साता सभापाखेरी गाउँपालिकामा जन्म १५ ओटा, मृत्यु दुई ओटा, सम्बन्धविच्छेद एक ओटा र विवाह चार ओटा घटना दर्ता भएको सभापोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताउनु भयो । सिलिचोङ गाउँपालिकामा वैशाखको पहिलो साता एक ओटा मात्र घटना दर्ता भएको छ ।  सिलिचोङ गाउँपालिकामा गएको चैत २० देखि  गतेसम्म पाँच ओटा घटना दर्ता भएका थिए । वैशाखको पहिलो साता सिलिचोङ गाउँपालिकामा एक जनाले मात्र जन्म दर्ता गराएको सिलिचोङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भुपाल राईले बताउनु भयो । सिलिचोङ गाउँपालिकामा गएको चैत २० देखि  गतेसम्म  जन्म तीन ओटा, मृत्यु एक ओटा र विवाह दर्ताका एक ओटा घटना दर्ता भएका छन् ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लाका सात ओटा स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह कतै प्रभावरकाी र कतै प्रवाभहीन भएको पाइएको छ । घटना दर्ता सप्ताह धनकुटा नगरपालिकामा प्रभावकारी भएको देखिँदैन । सरकारले सञ्चालन गरेको अभियानमा धनकुटा नगरपालिकामा ३३ ओटा घटना दर्ता भएका छन् । गएको चैत २० देखि २७ गतेसम्म ४७ ओटा घटना दर्ता भएका छन् । वैशाखको पहिलो साता धनकुटा नगरपालिकामा जन्म ११ ओटा, मृत्यु ६ ओटा, सम्बन्धविच्छेद तीन ओटा, विवाह आठ ओटा, बसाइसरी आएका दुई ओटा र बसाइ सरी गएका तीन ओटा घटना दर्ता भएका छन् । गएको चैत २० देखि २७ गतेसम्म धनकुटामा नगरपालिकामा जन्म २० ओटा, मृत्यु पाँच ओटा, विवाह आठ ओटा, बसाइ सरी आएका पाँच ओटा र बसाइ सरी गएका ६ ओटा घटना दर्ता भएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताउनु भयो ।

साँगुरीगढी गाउँपालिकामा भने व्यक्तिगत घटना दर्ता प्रभावकारी देखिएको छ । व्यक्तिगत घटना दर्ता सप्ताह अवधिमा ३८ ओटा घटना दर्ता भएका छन् । गएको चैत २० देखि २७ गतेसम्म १५ ओटा घटना दर्ता भएका थिए । सरकारले सञ्चालन गरेको अभियानमा साँगुरीगढी गाउँपालिकामा जन्म २४ ओटा, मृत्यु ६ ओटा, सम्बन्धविच्छेद एक ओटा, विवाह सात ओटा दर्ता भएका छन् । गएको चैत २० देखि २७ गतेसम्म साँगुरीगढीमा जन्म ६ ओटा, मृत्यु तीन ओटा,सम्बन्धविच्छेद एक ओटा र विवाह पाँच ओटा दर्ता भएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भएको छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार अघिल्ला वर्षको तुलनामा यस जिल्लामा व्यक्तिगत घटना दर्ता सप्ताहको सकारात्मक प्रभाव देखिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहहरुमा सञ्चालन गरेको सप्ताहव्यापी व्यक्तिगत घटनादर्ता कार्यक्रममा विगतका वर्षहरु भन्दा यस वर्ष घटना दर्ता गर्नेहरुको सङ्ख्या बढी देखिएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

गत वर्षको व्यक्तिगत घटना दर्ता सप्ताहका क्रममा ७१ ओटा घटना दर्ता भएको त्रियुगा नगरपालिकामा यस वर्ष १ सय ४ ओटा घटना दर्ता भएका छन् । जसमध्ये जन्मदर्ताका ५३, मृत्युदर्ताका ११, सम्बन्धविच्छेदका दुई ओटा, विवाह दर्ताका २० र बसाइसराईका ३३ ओटा घटना दर्ता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुभक्त सिग्देलले बताउनु भयो । गत वर्ष जन्मदर्ता ३०, मृत्युदर्ता नौ, सम्बन्धविच्छेदका एक, विवाह दर्ताका १३ ओटा र बसाईसराइका २० ओटा घटना दर्ता भएका थिए । व्यक्तिगत घटना दर्ता सप्ताहमा नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरुमा शिक्षक÷विद्यार्थीहरुसँग अभिमुखीकरण कार्यक्रम, सञ्चारमाध्यमबाट सूचना प्रकाशन‍-प्रशारण लगायतका क्रियाकलापहरु सञ्चालन गरेको मेयर वसन्तकुमार बस्नेलले बताउनु भयो । कटारी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष व्यक्तिगत घटना दर्ता गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । गत वर्षको घटनादर्ता सप्ताहमा ६५ ओटा घटना दर्ता भएकोमा यस वर्ष ९७ ओटा घटना दर्ता भएका छन् । जसमध्ये जन्मदर्ता ५४, मृत्युदर्ता १९, सम्बन्धविच्छेद एक, विवाह दर्ता १९ र बसाईसराइका ११ ओटा घटना दर्ता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराँतीले बताउनु भयो । गत वर्ष जन्मदर्ता ३१, मृत्युदर्ता ११, सम्बन्धविच्छेद एक, विवाहदर्ता १६ र बसाईसराइका २१ ओटा घटना दर्ता भएका छन् । घटनादर्ता सप्ताहमा नगरपालिकाको १४ ओटै वडामा सन्देशमुलक व्यानर राखिएको, सञ्चारमाध्यमहरुबाट प्रचारप्रसार गरिएको र विद्यार्थीहरु मार्फत पनि जानकारी गराइएको मेयर राजेशचन्द्र श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सप्ताहको अन्तिम दिन कटारी नगरपालिकाका सरोकारवालाहरुसँग वृहत छलफल कार्यक्रम राखिएको थियो ।

बेलका नगरपालिकामा भने गत वर्षको तुलनामा यस वर्ष व्यक्तिगत घटना दर्ता गर्नेहरुको सङ्ख्यामा कमि आएको छ । गत वर्ष ६२ ओटा घटनादर्ता भएकोमा यस वर्षको घटनादर्ता सप्ताहमा ५८ ओटा मात्र घटना दर्ता भएका छन् । जसमा जन्मदर्ता ४१, मृत्युदर्ता तीन, विवाह दर्ता १४ र बसाईसराइका १६ ओटा घटना दर्ता भएका छन् । घटना दर्ता सप्ताहव्यापी अभियानलाई सफल बनाउन वडा कार्यालयहरु, सार्वजनिक स्थान, बिद्यालय लगायतमा पोष्टर, व्यानर टाँस गरिएको तथा स्थानीय संचारमाध्यमहरुबाट प्रचारप्रसार गरिएको नगर प्रमुख अशोक कार्कीले बताउनु भयो । जिल्लाका अन्य स्थानीय तहहरुले भने तथ्याङ्क संकलनको काम गरिरहेकाले अन्तिम विवरण आउन बाँकी रहेको बताएका छन् ।

चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाले घटनादर्ता सप्ताहको विवरण संकलन भइरहेको जनाएका छन् । योग्यता पुगेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि विवरण दर्ता गराउन, अपाङ्गता भएका व्यक्तिहरु, गर्भवती महिला, बृद्धबृद्धा तथा लोपोन्मुख जातिलाई प्राथमिकता दिन र सामाजिक सुरक्षाभत्ता तथा घटनादर्ता सम्बन्धिका गुनासो दर्ता गराउन समेत सप्ताहव्यापी अभियान महत्वपूर्ण रहेको अधिकारकर्मी भरत खड्काको भनाइ छ ।

सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्‍याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्‍याउन अभियान सञ्चालन गरिएको जिल्ला सरकारी वकिल कार्यालय उदयपुरका जिल्ला न्यायाधिवक्ता राजकुमार राउतले बताउनु भएको छ ।

अन्य

भिडियो