राजविराज नगरपालिका–५ स्वर्ण टोलकी ३२ वर्षीया करिश्मा चौधरीमाथि घरेलु हिंसा गरेको कसुर ठहर गर्दै पति ३१ वर्षीय डाक्टर उज्जवल देव, ससुरा ७६ वर्षीय शशिकान्त देव, सासू ६२ वर्षीया पूर्णिमा देव र देवर २७ वर्षीय उत्सव देवलाई वैशाख १२ गते जनही ३ हजार रुपियाँ जरिवानाको फैसला भएको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासबाट घरेलु हिंसा कसुर ठहर गर्दै आरोपितहरूलाई जरिवानाको फैसला भएको अदालतले जनाएको छ । पीडितले अंश र भरणपोषण बापत मानाचामल खर्च पनि पाउने फैसला भएको छ । अदालतको फैसला अनुसार पीडितले प्रति महिना १० हजार रुपियाँ मानाचामल भरणपोषण बापत पाउने तथा चार भाग अंश लगाई त्यस मध्ये एक भागबाट दुई भाग लगाइ त्यस्को एक भाग पीडितले अंश पाउने फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
पीडितले जिल्ला अदालतमा ०७९ माघ १९ गते घरेलु हिंसाको उजुरी दिनुभएको थियो । भने अंश तथा भरणपोषणको मुद्दा ०७७ कात्तिक १९ गते दर्ता गर्नुभएको थियो ।
आरोपितहरूले ०७९ माघ ७ गते पीडितलाई घर प्रवेश गर्न नदिइ कम्पाउण्डबाट निकाला गरी ज्यान मार्ने धम्की दिइ घरेलु हिंसा गरेको भन्दै पीडितले उजुरी दिनुभएको थियो । विराट नर्सिङ कलेज विराटनगरमा कार्यरत पीडित र निजामति कर्मचारी हस्पिटल काठमाडौंमा कार्यरत डाक्टर देवले मोरङ जिल्ला अदालतमा ०७५ असोज १९ गते दर्ता विवाह गर्न आवेदन गरी सहमतिपत्र संलग्न राखी सही छाप गरेका थिए । दुबैले ०७६ असोज २८ गते कंकालिनी मन्दिरमा विवाह गरी घर जाँदा समेत सासू ससुराले हप्कीदप्की गर्दै दाइजोमा ५० लाख रुपियाँ र विराटनगरको जग्गा मागेको पीडितले बताउनु भयो ।
त्यस पश्चात विराटनगर महानगरपालिका–१२ पाञ्चालीको लक्ष्मीनारायण मन्दिर छेउ डेरा गरी सँगै बसेको र काठमाडौंमा डा. देव कार्यरत भएपछि काठमाडौ जडिबुटीमा समेत पतिपत्नीका रूपमा सँगै बसेको पीडितले बताउनु भयो । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले माघ २० गते पीडितलाई शान्त र निर्भय वातावरणमा घरमा बस्न, खान लाउन दिनु, दाइजो माग्ने कुटपिटलगायत यातना दिने कार्य नगर्नु, नगराउनु भनी अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो ।