
मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सबैला नगरपालिका–९ भटिहनटोल की ३९ वर्षीया मन्तोरीया देवी रायको जनकपुरधामस्थित न्युरो अस्पतालले उपचारपछि डिस्चार्ज गरे पनि घर जान नपाएको घटनाबारे इन्सेक प्रतिनिधि टोलीले चैत २९ गते अनुगमन गरेको छ ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान र कार्यक्रम फोकल पर्सन बरुण बस्यालले न्युरो अस्पतालमा पुगी पीडित मन्तोरीय देवी र उहाँको ससुरा रामप्रसाद रायसँग छलफल गर्नुभएको थियो । अनुगमनका क्रममा मन्तोरिया देवी तथा पीडित परिवार, अस्पताल प्रशासन, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी र सबैला नगरपालिकाका नगर प्रमुखसँग छलफल गरेको छ ।


इन्सेक प्रतिनिधिसँगको भेटमा पीडित मन्तोरिया देवी रायले न्युरो अस्पतालले आफूलाई उपचार गरेपनि आर्थिक अभावका कारण सबै रकम नदिएका कारण एक महिनादेखि अस्पतालमै बस्नु परेको बताउनु भयो । आफूलाई ठक्कर दिने मोटरसाइकल चालकले उपचारमा रकम नतिरेको र आफूसँग उपचारमा लाग्ने रकम तिर्ने हैसियत नभएका कारण समस्यामा परेकाले डिस्चार्जका लागि पहल गरिदिन पीडित मन्तोरिया देवीले इन्सेक मधेस प्रदेश संयोजक पासवानलाई आग्रह गर्नुभएको थियो ।
मोटरसाइकलले ०७९ माघ १२ गके दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा लुगा लटपटिएर २१ फिटसम्म घिसार्दा ठाउको, पेट र खुट्टामा चोट लागेको पीडित मन्तोरिया देवीले बताउनु भयो । पीडित मन्तोरिया देवीको पेटमा चोट लागेको र दायाँ खुट्टामा स्टिल लगाइएको अस्पतालले जनाएको छ ।
पीडित मन्तोरीया देवीको ससुरा रामपसाद रायले बुहारीलाई ठक्कर दिने बा ६१ प ३६३३ नम्बरको मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ बेमरखीटोलका २५ वर्षीय दिपक कुमार रायविरुद्ध माघ २० गते उजुरी दिएको बताउनु भयो । तर, मोटरसाइकल चालकले उपचार खर्च नदिएको र सोको लागि कसैले पहल नगरेको उनले दुःखेसो पोखेका थिए । ऋण काढेर र समाजमा चन्दा उठाएर पाएको करिब ७ लाख रुपियाँ रकम अस्पताललाई तिरेको उहाँको भनाइ थियो ।
अस्पतालका सञ्चालक अजय राउतले अस्पतालको फार्मेसीलाई ५ लाख २३ हजार ९ सय ७५ तिर्नुपर्नेमा ३ लाख १८ हजार तिरेको र अस्पताललाई तिर्नुपर्ने ९ लाख ८४ हजार ३ सय मध्ये ३ लाख ४२ हजार तिरेपनि अस्पताल र फार्मेसीको गरी कूल ८ लाख ४८ हजार २ सय ७५ रुपियाँ तिर्नु पर्ने देखिएकोले सो रकम पाउनु पर्ने इन्सेक प्रतिनिधि टोलीलाई बताउनु भयो । उपचारमा कुनै कसर बाँकी नराखेर उपचार गरेकोले सो रकम पाउनुपर्ने उहाँको भनाइ थियो । त्यस रकममा आपसी सल्लाहबमोजिम अधिकतम रकम छुट गर्न तयार रहेको समेत उहाँले बताउनु भयो ।
इन्सेक मधेस प्रदेशको टोलीले धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई भेटि न्यूरो अस्पतालमा रहेकी मन्तोरीया देवी राउतको घटना बारे छलफल गरेको थियो । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारीले डिस्चार्ज भइसकेपछि उपचार खर्च नदिएको बहानामा कसैलाई अस्तालमा राख्न नहुने र सोको लागि पहल गरिरहेको इन्सेक मधेस प्रदेश संयोजक पासवानलाई बताउनु भयो । मान्तोरीया देवी रायलाई न्यूरो अस्पतालबाट डिस्चार्ज गर्ने विषयमा आफू लागि परेको सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले बताउनु भएको थियो ।
पीडित मन्तोरीयाको बलियो संरक्षक नहुँदा र सरकारका कुनै पनि संयन्त्र अस्पतालमा भएका विरामीहरूको अनुगमन नगर्ने प्रवृत्तिका कारण यसरी मन्तोरिया जस्ता दर्जनौँ बिरामीहरू समस्यामा पर्ने गरेको न्युरो अस्पतालका बजार व्यवस्थापक सञ्जय कुमार मण्डलले अनुगमन टोलीलाई बताँउदै यसमा तीन ओटै तहका सरकारको ध्यानाकर्षण गराउन इन्सेकको अनुगमन टोलीलाई अनुरोध गर्नुभयो ।
यसैबिच, पीडित मन्तोरीया देवी रायलाई न्युरो अस्पतालबाट चैत २९ गते डिस्चार्ज गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बिरामीलाई हालका लागी घरमा पठाउन भनेको र सबैला नगरपालिकाका मेयर कारीराम यादवले कार्यपालिकाको बैठकबाट पीडित मन्तोरीया रायलाई १ लाख रुपियाँ सहयोग गर्ने र सो रकम पीडितमार्फत प्रदान गरिने बताएपछि डिस्चार्ज गरी बिरामीलाई पठाइएको न्यूरो अस्पतालका सञ्चालक राउतले बताउनु भयो ।
सबैला नगरपालिकाका मेयर यादवले तत्काललाई १ लाख रुपिँया पीडित मन्तोरीया देवी मार्फत सो रकम अस्पताललाई उपलब्ध गराइने र उपचारमा लागेको रकमका लागि पहल गर्ने अस्पताल संचालकसँग कुराकानी गरेपछि बिरामी घर जान पाएको बताउनु भयो । बिरामीको उपचारका लागि लागेको अस्पतालको बिल भुक्तानी खर्चका लागी आवश्यक पहलकदमी लिन इन्सेकलाई उहाँले अनुरोध समेत गर्नु भएको छ ।