सानीभेरी गाउँपालिका –११ मा रहेको शिव माध्यामिक बिद्यालय काफलबोटमा शैक्षिक सत्रको अन्तिमसम्म पनि पुस्तक उपलब्ध भएन । कक्षा नौ र १० का बिद्यार्थीहरूले पस्तक नै पढ्न नपाएर परीक्षा दिनुपरेको गुनासो गरेका छन् । कक्षा १० का बिद्यार्थीले ऐच्छिक बिषयहरु बिद्यालयले उपलब्ध नगराउँदा नपढेरै परीक्षा दिनुपरेको र परीक्षा सोचेकोजस्तो नभएको बिद्यार्थी बिशाल वलीले बताउनुभयो ।
कक्षा १० का आफुसँगै ३८ जना बिद्यार्थीले ऐच्छिक बिषय पढ्न नपाएको र ऐच्छिक बिषय कस्तो छ भन्ने कुराको जानकारी समेत नभएको उनको भनाई छ । कक्षा १० मा अरु बिषयको केही मात्रामा पढाई भएपनि ऐच्छिक बिषयहरुको भने एक दिन पनि नपढेको बिद्यार्थीहरुको भनाई छ । शैक्षिक सत्रको अन्तिम सम्ममा पनि पुस्तक उपलब्ध नहुँदा पढ्न नपाएको र नपढेरै परीक्षामा बस्दा तीन घण्टा बिताउन निकै मुस्कील भएको बिद्यार्थीहरुले गुनासो गरे ।
त्यसैगरी ,कक्षा नौ मा भने यो शैक्षिक सत्र भरी पढाई नै नभएर परीक्षामा सहभागी हुनुपरेको बिद्यार्थीको गुनासो रहेको छ । बिद्यालयले कुनै पुस्तक उपलब्ध नै नगराएको र भएका पुस्तकहरु पनि बिद्यालयमा नपढाएको बिद्यार्थी शर्मिला वलीले बताउनुभयो । पुस्तक पनि उपलब्ध नगराउने, बिद्यार्थीको पढाईमा पनि ध्यान नदिएर आफुहरुको भविष्यमा खेलवाड गरेको बिद्यार्थीहरुको दुखेसो रहेको छ । पढाई नभएको बिषयमा बिद्यार्थीहरुले पटकपटक बिद्यालय प्रशासनसँग कुरा गर्दा पनि बिद्यालयले वेवास्ता गरेको उनीहरुको भनाई छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर खडकाले आफुहरुले बिद्यार्थीहरुलाई किताव उपलब्ध गराउन नसकेको स्विकार गर्नुभयो । भौगोलिक विकटताका कारण बिद्यार्थीलाई पुस्तक उपलब्ध गराउन नसकेको र आउँदा दिनमा समयमै बिद्यालयमा पुस्तकको व्यवस्था गर्ने उहाँको भनाई छ ।
त्यस्तै गरी , शैक्षिक सत्रको सुरुवातमा प्राविधिक कारणबस पुस्तकको अभाव भएको र पछि पुस्तक बिक्रेताको व्यवास्ताका कारण पुस्तकको अभाव भएको सानीभेरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपालसिंह बिष्टले जानकारी दिनुभयो । बिद्यालय नयाँ भएको र बिषय शिक्षकको अभावका कारण बिद्यालयमा पढाई नभएको उहाँले स्विकार गर्नुभयो । बिद्यालयमा छिट्टै बिषय शिक्षकको व्यवस्था गर्ने र पुस्तकको पनि शैक्षिक सत्रको सुरुवातमा नै व्यवस्था गर्ने उहाँको भनाई छ ।