INSEC Online

📅 २०८३ जेष्ठ २१

चिसो र खानेपानीको समस्याले जोखिम बस्तीमै भूकम्प पीडित

एकिकृत बस्ती पुननिर्माण भएको दुइ वर्ष बितिसक्दा सम्म धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा भूकम्प पीडित सरिसकेका छैनन् । भूकम्पले जमिन हल्लाएर जोखिम बढेको पुरानो बस्ती लाप्राकमा अधिकाशं स्थानीय छन् । ६ सय एक घर धुरीको गुप्सीपाखामा करिब ७० घरका स्थानीय मात्र सरेका छन् । अत्याधिक चिसो र खानेपानीको समस्याले हिउँदयाममा गुप्सीपाखामा बस्न नसकिएको स्थानीय धन वहादुर गुरुङले बताउनुभयो ।

तिन आना क्षेत्रफलमा बनेको घरमा वर्षदिनभरी बसेर गुजारा गर्न सकस हुँदा पुरानै बस्ती लाप्राकमा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘हाम्रो बारी पुरानो बस्ती आसपास छ, गुप्सीपाखा बस्तीबाट बारीमा जान तिन घण्टा हिड्नुपर्छ,’–उहाँले भन्नुभयो,‘तिन घण्टा बारीमा जान, तिन घण्टा गुप्सीपाखा फर्कन लागेपछि दिन त्यसै बित्छ, खेती गर्नका लागि पनि पुरानो बस्तीमा बस्नुपर्ने बाध्यता छ ।’

गुप्सीपाखा बस्तीमा पशुपालन गर्न पनि समस्या रहेको उहाँले बताउनुभयो । ‘हाम्रो गुजारा चल्ने भनेको नै कि पशुपालन कि खेतीकिसानी हो,’उहाँले भन्नुभयो,‘गुप्सीपाखाको नयाँ घरमा पशुपालन गर्न पनि गाह्रो छ, गोठ पुरानो घर नजिकै, घाँस पुरानो घर नजिकै भएपछि नयाँ बस्ती पाएक परेन ।’

हिउँद यामको चार महिना खानेपानीको समेत समस्या परेको स्थानीय बताउँछन् । २७ सय ५० मिटर उचाइको गुप्सीपाखामा चिसोका कारण पनि स्थानीय सरिहाल्न नचाहेका हुन् । पुस देखि यताको तिन महिना चिसोका कारण पानी पाइप भित्रै जम्दा गुप्सीपाखामा पानीको समस्या थपिएको थियो । पानी अभावको कारणले पनि गुप्सीपाखा सरेका स्थानीय पुरानै बस्ती लाप्राक फर्किएका थिए ।

भूकम्प पछि सुरक्षित ठाउँ खोजेर गुप्सीपाखामा घर निर्माण गरिएको हो । नियमित नबसेपनि तल्लो बस्तीका स्थानीय गुप्सीपाखामा आउजाउ भइरहेको धार्चे गाउपालिका–४ का वडा अध्यक्ष किसान गुरुङ बताउनुहुन्छ । जाडो सकिएकाले स्थानीय माथिल्लो बस्ती सर्ने उहाँको भनाइ छ । स्वास्थ्य चौकि र विद्यालय गुप्सीपाखा सरिसकेकाले स्थानीयलाई नयाँ बस्तीमा सर्न सहज बन्ने उहाँले बताउनुभयो ।

२०५५ सालमा पनि लाप्राकका पुरानो बस्ती पहिरोले असुरक्षित बनेको थियो । भौगर्वविदले तत्कालिन समयमा पनि बस्तीमा बस्न अयोग्य रहेको सुझाव स्थानीयलाई दिएका थिए । २०७२ वैशाख १२ को भूकम्पले झनै थिलो थिलो भएको बस्तीमै स्थानीयले दिनरात कटाइरहेका छन् । भूकम्प लगतै बस्ती असुरक्षित बनेपछि स्थानीय गुप्सीपाखामा सरेर पाल टागेर बसेका थिए ।

गैरआवासीय नेपाली संघ एनआरएनएले राष्ट्रिय पुननिर्माण प्राधिकरण सँग सम्झौता गरेर २०७३ वैशाख १२ बाट गुप्सीपाखामा एकिकृत बस्ती पुननिर्माण सुरू भएको थियो । बस्ती निर्माण सुरू भएपछि यहाँका स्थानीय पुरानै बस्ती लाप्राक फर्किएका थिए । तिन आना क्षेत्रफलमा बनेको एक तले घर साँगुरो हुँदा पनि स्थानीय नयाँ घरमा सर्न चाहेका छैनन् । १८.३२ हेक्टर क्षेत्रफल स्वामित्वमा लिएर गुप्सीपाखामा बस्ती पुननिर्माण भएको हो ।

received_1294480668154721received_925694691971033

अन्य

भिडियो