चितवन क्षेत्र नं २ का उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा ०७९ चैत २१ गते चार ओटा उजुरी दर्ता भएको छ ।
उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिले तीन ओटा र काठमाडौँबाट युवराज पौडेल (सफल) ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् ।
लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको तीन महिना नपुग्दै चितवन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गरेकोले उनको उम्मेदवारी खारेजीको माग गर्दै दाबी विरोध र उजुरी परेको हो ।
उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले दर्ता गरेको उजुरीमाथि निर्वाचन अधिकृतले जाँच बुझ गरि आवश्यक निर्णय गर्ने छन् भने युवराज पौडेलले दर्ता गरेको उजुरीको बारेमा लामिछानेसँग स्पष्टिकरण लिएर कागज पत्र निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।