घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ ।
मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको रोहवरमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले ८ हजार रूपियाँ र समूहका सचिव कमलेश त्रिपाठीले ५ सय रूपियाँ गरी ८ हजार ५ सय रूपियाँ चौधरीलाई सहयोग हस्तान्तरण गर्नु भएको हो ।
पीडितले पति २९ वर्षीय विवेक मल्ल, ससुरा ५२ वर्षीय मनु मल्ल, सासु ४८ वर्षीया अन्जु मल्ल र देवर २६ वर्षीय असिम मल्ल विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा माना चामल र अंश मुद्दा दर्ता गराउनु भएको हो ।
पीडित र आरोपितबिच ०७४ फागुन २९ गते प्रेम विवाह भएको थियो । एक वर्ष पछि पीडितका पति बैदेशिक रोजगारकालागि बहराईन जानु भयो । दुई वर्षसम्म एक दुई पटक सामान्य खर्च पठाएपनि सम्पर्क बिहिन भएको पीडितले बताउनु भयो ।
घरमा सासु ससुराले खान लाउन नदिने , बिरामी हुँदा उपचार खर्च नदिने , शारिरीक, मानसिक र आर्थिक हिंसा गर्नुका साथै बिवाह दर्ता , नागरिकता र छोरीको जन्म दर्ता समेत नबनाएको पीडितले बताउनु भयो ।
हल माइतीको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंश सम्बन्धी मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुमा फागुन २ गते निवेदन दिनु भएको थियो ।
मानव अधिकार समूहले फागुन ३ गते पीडितलाई सहयोग गरिदिन भन्दै इन्सेक कपिलवस्तुलाई सिफारिस गरेको र पीडितले फागुन ४ गते इन्सेक प्रतिनिधिलाई समेत सहयोगकालागि निवेदन दिनु भएको थियो ।
पीडितको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्ला कानुनी सहायता समितिसँग समन्वय पश्चात फागुन ११ गते पीडितले माना चामल र अंश सम्बन्धीको मुद्दा जिल्ला अदालतमा दर्ता गराउनु भएको थियो ।
यसैगरी, कपिलवस्तु नगरपालिका –४ छोड्की तौलिहवाकी १४ वर्षीया जानकी रैदासको शैक्षिक तहमा निरन्तरता दिनका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।
अति विपन्न अवस्थाका कारण शैक्षिक सामाग्री जुटाउन नसक्दा रोकिएको शिक्षालाई निरन्तरता दिन पाएपछि रैदास खुशी भयो ।
घरको आर्थिक अवस्था कमजोर भएकी रैदास श्री तौलेश्वर नाथ माबिमा कक्षा– ८ मा अध्ययन गर्नु हुन्छ । इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मी र समूहका सदस्य कृष्ण अग्रहरीको रोहवरमा ८ हजार रूपियाँ हस्तान्तरण गर्नु भएको हो ।
रैदासलाई मासिक शुल्क बुझाउन नपरे पनि शैक्षिक सामाग्रीहरू खरिदर स्कूल पोषाकको लागि समस्या भएको भन्दै मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीलाई माघ २२ गते निवेदन दिनु भएको थियो ।
मानव अधिकार समूहले इन्सेक जिल्ला प्रतिनिधिलाई शिक्षालाई निरन्तरता दिन आर्थिक सहयोग उपलब्ध गराइदिन भन्दै माघ २५ गते निवेदन सहित सिफारिस गर्नु भएको थियो ।