मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई चैत ८ गते जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदार मुनालाई जन्मकैद र मुनाका २५ वर्षीय पति डम्बर खड्कालाई सफाइ दिएको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
कसुरदारलाई जन्मकैद (२५ वर्ष) काराबास बस्नुपर्ने, पीडित पक्षलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ ।
मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक नगेन्द्रबहादुर बीसीको ०७८ भदौ २९ गते राति हत्या भएको थियो । आफूमाथि यौनजन्य दुव्र्यवहार भएपछि धारिलो चक्कू प्रहार गरी हत्या गरेको मुनाको भनाइ छ ।
घटनाको बेला सुर्खेतमा रहेका मुनाका पति डम्बरलाई मुनाले हत्या घटना लगतै मोवाइलबाट जानकारी गराएको बेला ‘भागेर आऊ म लुकाउने प्रयास गरौँला’ भनी म्यासेज गरेको आधारमा डम्बरलाई समेत हत्या अभियोगमा कारागार थुनामा राखिएको थियो ।
मुनाले शिक्षक नगेन्द्रबहादुरको हत्या गरेको समयताका डम्बर सुर्खेतमा हुनुहुन्थ्यो । डम्बर घटना हुनुभन्दा दुई वर्ष अघिदेखि सुर्खेतको एक होटलमा काम गर्नुहुन्थ्यो ।
‘लुकाउने प्रयास गरौँला’ भनी मुनालाई म्यासेज लेखेकै आधारमा हत्या अभियोगमा उहाँ डेढ वर्ष थुनामा बसेपछि मात्र सफाइ पाउनुभएको हो ।
मृतकको शव घटनाको भोलिपल्ट भदौ ३० गते दैलेख अस्पतालमा परीक्षण गरिएको थियो । पीडित पक्षको उजुरी र प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७८ कात्तिक ४ गते दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्बन्धमा कात्तिक ५ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट थुनामा राख्न दिएको आदेश अनुसार आरोपित मुना र डम्बरलाई जिल्ला कारागारमा राखिएको थियो ।