पाख्रिवास नगरपालिका–५ घोर्लीखर्ककी स्वर र बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी ३२ वर्षीया इन्दिरा भुजेललाई फागुन २२ गते कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीया सौतेनी छोरी मीना भुजेललाई फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २२ गते कुटपिट गरेको घटना फागुन २४ गते बाहिरिएको थियो ।
फागुन २४ गते घटना सामाजिक सञ्जालबाट बाहिरिएपछि इन्सेक प्रतिनिधिले प्रहरीसँग घटनाको बारेमा ध्यानाकर्षण गराएपछि प्रहरीले फागुन २५ गते घरैबाट आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरी चौकी पाख्रिबासका सइ प्रेमबहादुर राउतले बताउनु भयो ।
स्वर र बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी इन्दिरालाई आरोपितले घरायसी विषयलाई लिएर कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
पीडितका पति अर्जुन भुजेल घरमा नभएको अवस्थामा आरोपितले निर्घात कुटपिट गरेको पीडितका छिमेकी नरबहादुर भुजेलले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पतिपत्नी नै स्वर र बोलाइ सम्बन्धी अपाङ्गता भएका कारण घटनापछि आरोपितविरूद्ध प्रहरीमा उजुरी परेको थिएन ।
इन्सेक प्रतिनिधिले घटनाका विषयमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयका एसपी नहकुल पोखरेलको फागुन २५ गते घटनाका विषयमा ध्यानाकर्षण गराएपछि प्रहरीले आरोपितलाई घरबाटै गिरफ्तार गरेको हो ।
कुटपिटबाट पीडितको शरीरका विभिन्न भाग र अनुहारमा चोट लागेको छ ।
कुटपिटबाट घाइते हुनु भएकी इन्दिराको पाख्रिबास नगरपालिका–४ स्थित आधारभूत अस्पतालमा फागुन २५ गते उपचार गरिएको छ ।



