गएको असोज १९ देखि २३ गतेसम्म परेको अविरल वर्षातले घर तथा खेतमा क्षति बनाएको पाँच महिनासम्म पनि पहिरो पीडित घरपरिवारको पुनस्थापनाको व्यवस्था नहुँदा बाढी तथा पहिरो पीडित खुल्ला चौरमा पालको भरमा दिनरात बिताउन बाध्य भएका छन ।
बाढीपहिरोले बिचल्ली बनाएको पाँच महिनासम्म संघ, प्रदेश र स्थानीय सरकारले पुर्नवासको व्यवस्था नगर्दा मुगुका पहिरो पीडित परिवार घरखेत छोडेर खुल्ला चौरमा पालको भरमा दिनरात बिताउन बाध्य भएका हुन ।
वर्षातले जिल्लाको छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाँउपालिकामा ठुलो क्षति बनाएको थियो । बाढी पहिरोले घर जग्गा क्षति बनाएपछि पीडितहरू सुरक्षित स्थान भन्दै पालको भरमा पाँच महिनासम्म खुल्ला चौरमा बस्दै आएका छन । करिव पाँच महिना बितिसक्दा समेत पुर्नवासको पहल कसैबाट नभएको छाँयानाथ रारा नगरपालिका—८ का रङ्ग रावलले बताउनु भयो ।
बाढी पहिरोबाट जिल्लामा २ सय ३६ घरपरिवार पूर्णरुपमा विस्थापित भएका थिए भने १ सय ८८ परिवारको घर आंशिक क्षति भएको छ । ३ सय ९९ परिवार बाढी पहिरोबाट उच्च जोखिममा छन । पूर्ण रुपमा क्षति भएका घर परिवारहरू खुल्ला चौरमा त्रिपालको भरमा हिउँदको चिसो कटाउन बाध्य छन । समयमै पुर्नवासको व्यवस्था नभए गर्मी र बर्षातमा पनि यो समस्या व्यहोर्नुपर्ने बाध्यता रहेको नागरिक अगुवा रुप बहादुर मल्लले बताउनु भयो ।
बाढी पहिरोले क्षति बनाएका जिल्लालाई संघीय सरकारले असोज अन्तिमा हप्तामा संकट क्षेत्र घोषणा गरेको थियो । सोही अनुरुप जिल्लाका बाढीपहिरो लगायत अन्य प्राकृतिक प्रकोपबाट क्षति भएका पीडितहरूको लगत संकलन जिल्लाका चारै स्थानीय तहले गर्न थालेका छन । लागत संकलन सकिएपछि अन्य प्रक्रिया अगाडी बढाउन सकिने निमित्त प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायाले जानकारी दिनुभयो ।
बाली भित्रयाउने बेलामा अन्नबालीलाई बाढी पहिरोले क्षति बनाएपछि पीडित परिवारको बस्तीमा भोकमरीको समस्या देखिएको छ । सरकारी निकाय र गैरसरकारी संस्थाबाट प्राप्त राहत र घरमा बाँकी रहेको अनाजले जसोतसो पेट पाल्दै आएका पीडित परिवारहरू अबका दिनमा कसरी साँझबिहानको खाना जोहो गर्ने भन्ने चिन्तामा रहेको खत्याड गाँउपालिका—३ का हिरा टमटाले दुखेसो पोख्नुभयो ।