धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसमा फागुन ४ गते विद्यार्थीहरुबिच झडप हुँदा दुई जना घाइते भएका छन् ।
क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरी एमाले निकट अनेरास्वीयूले विद्यार्थी भर्ना गराउँदा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गर्न खोजेपछि दुई विद्यार्थी समूहबिच झडप भएको हो ।
झडपमा परी नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाई सभापति संखुवासभाको पाँचखपन नगरपालिका–४ का २१ वर्षका सुवास भण्डारी र नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सचिव तेहृथुमको छथर गाउँपालिका–२ का २० वर्षीय युवराज कार्की घाइते भएका हुन् ।
घाइते भण्डारीको नोबेल मेडिकल कलेज विराटनगरमा र कार्कीको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
क्याम्पस प्रमुख प्राध्यापक होमबहादुर बस्नेतले छलफल र वार्तामार्फत निकास खोज्ने बताउनु भएको छ । उहाँका अनुसार स्नातक तह पहिलो वर्षको नयाँ भर्नाको अन्तिम दिन फागुन ४ गते विद्यार्थी लामबद्ध रहेको बेला विवाद उत्पन्न भएको थियो ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेको छ ।
स्नातक तह पहिलो वर्षको भर्ना फागुन ४ गतेसम्म कायम गरिएको बस्नेतले थियो । विद्यार्थी क्याम्पसमा भर्ना हुने अन्तिम दिन भएकाले भर्नाका लागि विद्यार्थी साँझ ५ बजेसम्म लामबद्ध रहेको बेला घटना भएको क्याम्पस प्रशासनले जनाएको छ ।
नेविसंघका विद्यार्थीले फर्जी विद्यार्थी भर्ना कार्य बन्द गर्न दबाब दिएका र अनेरास्ववियुले लाइनमा रहेका सबैको भर्ना हुनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको थियो ।
फर्जी विद्यार्थी भर्ना गर्न खोजिएकाले विरोध गर्दा अनेरास्ववियुका विद्यार्थीबाट सांघातिक आक्रमण भएको नेविसंघका जिल्ला सभापति क्रान्ति पौडेलको भनाइ छ ।
अनेरास्वयुविका जिल्ला अध्यक्ष प्रकाश गिरीले लाइनमा रहेका विद्यार्थीको भर्ना रोक्न नहुने भन्दा नेविसंघले क्याम्पसमा ताला लगाउन खोजेपछि विवाद उत्पन्न भएको बताउनु भयो ।
नेविसंघले फागुन ४ गते बेलुकी विज्ञप्ति जारी गर्दै घटनाका दोषी माथि कानुनी कारबाहीको माग गरेको छ ।
घटनाको विरोधमा नेविसंघले सहायक क्याम्पस प्रमुखको कक्ष र प्रशासनिक भवनमा तालाबन्दी गरेको छ ।
नेविसंघ क्याम्पस इकाईका सचिव सुवास खनालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा क्याम्पस प्रशासनको लापरबाहीले युवा संघका अध्यक्ष प्रविण पोख्रेल, सचिब कमल कार्की र अनेरास्ववियु क्याम्पस इकाइ सचिब मुस्कान राई सहितले आक्रमण गरेको बताइएको छ।
यसैविच घाइते कार्कीले जिल्ला प्रहरी कार्यालय धनकुटामा पक्राउ गरि कानुनी कारबाहीको माग गर्दै उजुरी दिनुभएको छ। उहाँले युवा संघ जिल्ला अध्यक्ष धनकुटा नगरपालिका ७ का ४५ वर्षका प्रविण पोख्रेल, युवा संघका सचिब महालक्ष्मी नगरपालिका ३ का ३५ वर्षका कमल कार्की क्याम्पसको विद्यार्थी नभएपनि आएर आक्रमण गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिनुभएको छ।
अनेरास्ववियु र युवा संघले सरकारले गठन गरेको जिल्ला युवा समिति धनकुटाकी अध्यक्ष रहेकी कला राई सहित केही मानिसको जवरजस्ती भर्ना गर्न खोज्दा रोक्दा आक्रमण भएको नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समेत रहेका घाइते कार्कीले बताउनु भएको छ ।






