प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर जब्दीका ३६ वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि गोली प्रहार गरी ज्यान मार्ने उद्योग गरेकोमा खडक नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपती चौधरी र खडक नपगरपालिका–३ का ३७ वर्षीय सागरबाहु भनिने अशोक साहलाई माघ २६ गते १२ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितहरूलाई ज्यान मार्ने उद्योग कसूरमा ८ वर्ष र संगठित अपराधअन्तर्गतको कसूरमा ४ वर्ष गरी १२ वर्ष कैद सजाय गरेको सूचना अधिकारी भरत पोखरेलले बताउनु भयो ।
खडक नगरपालिका–८ बिसनपुर चोकमा ०७५ माघ २ गते राति गस्तीमा रहेका बेला प्रहरी यादवमाथि गोली प्रहार भएको थियो । घटनास्थलमा सशस्त्र समूह सिजन नेतृत्वको प्रगतीशिल तराई मुक्ति मोर्चाको पर्चा र गोलीको खोका भेटिएको थियो । काठमाडौं महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा पीडितको शल्यक्रिया गरी गोली निकालेर उपचार भयो । पीडितको कम्मरभन्दा मुनी नचलेर अपाङ्गताको जीवन बाँचिरहेका छन् ।
पीडितका दाजु ४४ वर्षीय इन्द्रदेव सतराले जिल्ला प्रहरी कार्यालयमा ०७५ माघ ७ गते उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले चौधरीलाई ०७५ माघ ७ गते हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी व्यारेजबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७५ चैत १० गते अभियोग पत्र दायर भएकोमा अदालतको आदेशमा आरोपित चौधरी चैत १२ गतेदेखि पुर्पक्षमा लागि राजविराज कारागारमा थुनामा छन् ।
यस्तै जिल्ला अदालतमा ०७८ असार २९ गते हाजिर भएका सागरबाहु भनिने अशोक साहलाई अदालतले सोही दिन ५ लाख रुपियाँ धरौटीमा राखी पुर्पक्ष गर्न आदेश दिएको थियो । आरोपितले धरौटी रकम बुझाउन नसके पछि कारागारमा थुनामा छन् ।
अन्य आरोपितहरू सिरहा धनगढीमाई नगरपालिका–५ का २६ वर्षीय सिजन भनिने रामकुमार यादव र भारत बिहार राज्य मधुबनी जिल्ला अनुमण्डल फुलप्रासका ३३ वर्षीय साकिर मियाँविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।
घटनामा आरोपित भनिएका सुरुङ्गा नगरपालिका–६ कडरबोनाका ३० वर्षीय दिपेश जायसवाल भनिने दिपेन्द्र चौधरीलाई प्रहरीले ०७५ माघ ९ गते विहान रूपनी गाउँपालिका–१ स्थित राजविराज आउने सडक खण्डमा गोली प्रहार गरी हत्या गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएर मुठभेंडको नाटक मञ्चन गरी दिपेन्द्रको हत्या गरेको भन्दै परिवारका सदस्य, गाउँलेहरू र राजपा नेपाल आबद्ध राष्ट्रिय विद्यार्थी संघले ०७५ माघ १० गते राजविराजमा प्रदर्शन गरेको थियो । प्रहरीले भने मृतकको साथबाट प्रगतिशील तराई मुक्ती मोर्चाको पर्चा, कटुवा पेस्तोल र गोली फेला परेको भन्दै आत्मरक्षाका लागि प्रहरी कारबाहीमा मारिएको बताएको थियो ।