INSEC Online

📅 २०८३ जेष्ठ २१

चन्दा माग गरेको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका चार जना गिरफ्तार

उद्योगी, व्यवसायी र सर्वसाधारणसँग चन्दा माग गरेको आरोपमा प्रहरीले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका  संयोजक विकरान्तसहित चार जनालाई  माघ १३ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक ३१ वर्षीय विकरान्त भनिने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज २० वर्षीय विपिन विक, १८ वर्षीय बिरु भनिने बृजेश गिरी र २० वर्षीय सुग्रिम रैदास रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शैलेश्वरी बोहराले जानकारी दिनु भयो ।

गत कात्तिक २२ गते कपिलवस्तुमा दुई वटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेको र विभिन्न व्यक्तिहरूसँग धम्कीपूर्णरुपमा चन्दा उठाएको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

आगजनी गरेको स्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तबाट जारी गरिएको  निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न सात बुदे मागसहितको पर्चाहरू प्रहरीले फेला पारेको थियो ।

यसैगरी, पुस १६, १७ र १८ गते कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका ३४ वर्षीय वुद्धकुमार अग्रहरिलाई फोन मार्फत २५ लाख रूपियाँ चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने धम्की दिएका थिए ।

पुस २६ गते र माघ २ गते  कृष्णनगर नगरपालिका–८ मौजा गणेशपुरका ४४ वर्षीय ओमकार चौधरीलाई फोन मार्फत १० लाख रूपियाँ चन्दा मागेको प्रहरी  अनुसन्धानबाट  खुलेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रेमबहादुर बस्नेतले बताउनु भयो ।

माघ  २ देखि १३ गतेसम्म शिवराज नगरपालिका–७ बालानगरका  पुजारीप्रसाद चौधरीलाई पनि ५ लाख रूपियाँ चन्दा मागेका थिए । चन्दा माग गरेको मध्ये  १ लाख रूपियाँ लिँदै गर्दा माघ १३ गते बृजेश गिरी र सुग्रिम रैदास गिरफ्तार परेका थिए ।

उनीहरूको सूचनाको आधारमा प्रहरीले बिकरान्त निने जग्गु तेली र जनतान्त्रिक मुक्ति मोर्चाका जिल्ला इन्चार्ज बताउने विपिन विक समेत गिरफ्तार परेका हुन् । आरोपित चारजनालाई जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालय मार्फत माघ १४ गते जिल्ला अदालत कपिलवस्तुमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको  एसपी बस्नेतले जानकारी दिनु भयो ।

अन्य

भिडियो