INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा अन्त्यका लागि सबैले पहल गर्नुपर्नेः अध्यक्ष मगर

विश्व भरि नै महिला हिंसा भइरहेको अवस्थामा लैङ्गिक हिंसा अन्त्यका लागि सबैले व्यक्तिगत र सामूहिक पहल गर्नुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जोड दिनु भएको छ ।

आयोगले सरोकारवालहरुसँग ०७९ मङ्सिर ९ गते आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा आयोगका अध्यक्ष मगरले लैङ्गिक हिंसाविरुद्धको अभियानमा विश्वका १ सय ६८ राष्ट्रमा कानुन बनेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनका लागि सबैको समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।

Women Day Programme-2079-8-9

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपाल सरकारले तय गरेको ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसाविरुद्धको अभियान’भन्ने नाराका साथ सुरु भएको हो ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० गतेसम्म संसारभरि मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनारहँदा विश्वभरि हेर्ने हो भने तीन जना महिलामध्ये एक जना महिलाले आफ्नो जीनवकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्नुपरेको अनुमान गरिएको अध्यक्ष मगरले बताउनु भयो ।

हरेक दिन ५६ जना महिला तथा बालबालिका बेचबिखनमा परेको उल्लेख गर्दै दैनिक तीन जना महिला तथा बालिका यौन दुर्व्यवहारमा परेको आयोगका सदस्य लिलि थापाले बताउनु भयो । उहाँले दैनिक पाँच जना महिला वैवाहिक बलात्कारमा पर्ने गरेको तथ्य प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा गरिबी, मद्यपान वा अन्य सतही कारणहरूले लैङ्गिक हिंसा हुने चित्रण हुँदै आएको भए तापनि यसको मुख्य कारणहरू भनेको महिलाको पहिचान, शरीर र श्रममाथि आफ्नो नियन्त्रण नहुनु नै भएको सरोकारवालाले औँल्याए ।

नेपालको संविधानले आफ्ना सम्पूर्ण नागरिकहरुका लागि समान हकको व्यवस्था गरेको छ भने धारा ३८ ले महिलाहरूको वंशको अधिकार, यौन तथा प्रजनन अधिकार, हिंसा तथा दुर्व्यवहारविरुद्ध सुरक्षाको अधिकार लगायतका अधिकारहरू सुनिश्चित गरेको छ । तर अझै बढ्दो रुपमा रहेको महिलामाथि हुने हिंसाका तथ्याङ्कहरू र न्याय पाउन हुने अप्ठ्याराहरुले यी कानुन संविधानमा अन्तर्निहित अधिकारहरू सुनिश्चित हुने वातावरण निर्माण हुन अझै धेरै काम गर्न बाँकी छ भन्ने स्पष्ट बनाएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

बढ्दो रूपमा घट्ने गरेका लैङ्गिक हिंसाका घटनाहरूले हिंसा प्रभावितहरुको स्वास्थ्य, सुरक्षा, गुणस्तरीय जीवन बाँच्न पाउने अधिकारलाई खण्डित गरिरहेको उनीहरूको भनाइ छ ।

Woman Day Programme-2079-8-9

अन्य

भिडियो