INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

राजापुर नपा-१० स्थित वडा कार्यालयमा वैशाख ३० गते राति अज्ञात समूहद्वारा आगजनी गरेको राजापुर नगरपालिकाको कार्यालयले जनाएको छ ।

Photo20170515Bardiya

नगरपालिकाको १० नम्बर वडा कार्यालय खैरीचन्दनपुरमा मोटरसाइकलमा आएका अज्ञात समूहले रातिको समयमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको हो ।

आगजनीबाट कार्यालयको प्रशासन फाँटमा रहेका कागजपत्र जलेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कृष्णजी अधिकारीले जानकारी दिए । कार्यालयको ढोका फोडेर भित्र पसी कागजपत्र जलाएको डिएसपी अधिकारीले बताए ।

कार्यालयका सामाजिक परिचालक अमिलाल थारुले मुखुण्डो लगाएर मोटरसाइकलमा आएका दुई जनाले प्रशासन फाँटमा रहेका कागजात आगजनी गरेको बताउँदै गाउँलेले देखेपछि ती व्यक्ति भागेको जानकारी दिए ।

‘आगजनी भएको देखेपछि स्थानीयबासीले आगो निभाएका थिए’-उनले भने । उक्त समूह कार्यालयको ताला तोडेर भित्र पसी कागजात जलाएको सामाजिक परिचालक थारुले बताए ।

आगजनी भएपछि तत्काल सुरक्षा व्यवस्था कडा बनाउनुको साथै आगजनीमा संलग्न पक्षको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो