मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र न.४ बाट गठवन्धनका उम्मेदवार अमनलाल मोदीका समर्थकले कात्तिक ३० गते चुनावी भेलाका क्रममा प्रश्न सोध्दा उम्मेदवारका समर्थकले कुटपिट गरेको आरोपमा सुनसरी कोशी गाउँपालिका-७ का २१ वर्षीय शङ्कर साफीले लगाउनु भएको छ ।
निर्वाचन क्षेत्र न.४ को कटहरी गाउँपालिका-३ स्थित एक मदरसामा कात्तिक ३० गते चुनावी भेलाका क्रममा पुगेका उम्मेदवार मोदीलाई यसअघि जित्नु भएको तपाईले विकासका काम के गर्नु भयो ? अब किन भोट दिनुपर्ने भनेर प्रश्न गर्दा कुटपिट भएको पीडितको आरोप छ ।

गठबन्धनको सभामा उम्मेदवार अमनलाल मोदीले मन्तव्य राखेपछि पीडितले ‘१० वर्ष सांसद भएर के के विकास गर्नुभयो ?’ भनेर प्रश्न गर्दा मोदीका समर्थकले कुटपिट गरेको पीडितको आरोप छ ।
सुनसरीको कोशी गाउँपालिका-७, हरिपुर स्थायी घर भइ कटहरी गाउँपालिकामा डेरामा गरी बस्दै आउनु भएका पीडितले ट्यूशन पढाउँदै आएको बताउनु भयो ।
चुनावी भेलामा झमेला भएको भन्दै खबर पाएपछि प्रहरीले साफीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।
डिएसपी श्रेष्ठले केही समयका लागि साफीलाई नियन्त्रणमा लिएको र रिहा गरेको बताउनु भयो ।
उम्मेदवार मोदीका स्वकीय सचिव ताजिम अन्सारीले मदरसामा भएको अनौपचारिक कार्यक्रममा आएर अनावश्यक प्रश्न गरेर कार्यक्रम बिथोल्न खोजेकाले साफीलाई प्रहरीको जिम्मा लगाएको भए पनि कुटपिट नभएको दाबी गर्नु भएको छ ।