मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का आउन एक साताभन्दा कम समय रहेको अवस्थामा प्रदेश १ का विभिन्न जिल्लामा निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
निर्वाचनका लागि आयोगले जारी गरेको निर्वाचन आचारसंहिता ०७९ विपरितका गतिविधि बढेको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा जिल्ला निर्वाचन कार्यालयले एक जना शिक्षकलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता विपरित आमसभामा सहभागी भएको र चुनावी प्रचारप्रसारमा संलग्न भएको उजुरी कात्तिक २८ गते निर्वाचन अधिकृतको कार्यालयमा परेपछि जिल्ला निर्वाचन कार्यालयले सुनकोशी गाउँपालिका–७ स्थित प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक टङ्कलाल गिरीलाई कात्तिक २८ गते स्पष्टीकरण सोधेको छ । गिरीले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टकीरण पेश गर्नु भएको आचारसंहिता अनुगमन अधिकृत यज्ञराज उप्रेतीले बताउनु भयो । जिल्लामा कात्तिक २९ गतेसम्मको अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी २२ ओटा उजुरी परेको छ । उजुरी परेकामध्ये १३ ओटा मौखिक र नौ ओटा लिखित रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार निर्वाचन आचारसंहिता विपरित राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले नेपाली कांग्रेसले मेचीनगर नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सहभागी हुनु भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । भूमि आयोगका अध्यक्ष निरौलाले झापा निर्वाचन क्षेत्र न.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश शर्माको पक्षमा भोट माग्नु भएको छ । मेचीनगर नगरपालिका–१० मा नेपाली कांग्रेसले सुकुम्वासीवस्तीका स्थानीयलाई सहभागी गराएर आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भूमि आयोगका अध्यक्ष निरौलाले विश्वप्रकाश शर्माको पक्षमा भोट माग्नु भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै भूमि आयोगका अध्यक्ष निरौलाले विश्वप्रकाश शर्मालाई भोट दिए जग्गाको धनीपूर्जा दिलाउने प्रलोभन देखाएको स्थानीयले बताएका छन् । निर्वाचन आचारसंहिता–०७९ (परिच्छेद ३ को दफा ५) ले नेपाल सरकारले गठन गरेको कुनै पनि आयोगका पदाधिकारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्ने नहुने’ व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता (परिच्छेद २ को दफा ४ को ‘क’ र ‘न’) ले नेपाल सरकारको सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ र ‘सरकारी स्रोत र साधन कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था गरेको छ ।
इन्सेक भोजपुर पर्यवेक्षक आशिष राईका अनुसार निर्वाचन आचारसंहिता विपरित स्थानीय तहका पदाधिकारी उम्मेदवारलाई भोट माग्दै हिँडेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । कात्तिक २८ गते राति आमचोक गाउँपालिका–५ का वडा सदस्य गोकुल राई, दलित महिला सदस्य कृष्णमाया परियारले गठवन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँती र प्रदेशसभाका उम्मेदवार विनोद राईका लागि भोट माग्नु भएको छ । निर्वाचन आचारसंहिता ०७९ को परिच्छेद ३ को बुदाँ ‘ङ’ ले स्थानीय कार्यपालिका र सोका सदस्यलाई निर्वाचन आचारसंहिता लागू हुने व्यवस्था गरेको छ ।