इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी नेतृत्वको टोलीले जिल्लामा निर्वाचन आचारसंहिता परिपालनाको अवस्था अनुगमन गरेको छ ।
अनुगमन टोलीले कार्तिक २३ गते जिल्लामा आचारसंहिताको अनुगमन गरेको अनुगमन टोलीका सदस्य राजकुमार चौधरीले बताउनु भयो ।
अनुगमनका क्रममा इन्सेक प्रदेश संयोजक जोशी नेतृत्वको टोलीले मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती, जिल्लास्थित पर्यवेक्षक तथा पत्रकारहरुसँग अन्तरक्रिया समेत गरेको थियो ।
आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९, को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको तयारी र जिल्लाको शान्ती सुरक्षाको अवस्थाका बारेमा समेत अनुगमन टोलीले छलफल गरेको छ ।
इन्सेक प्रदेश संयोजक जोशीले इन्सेक मार्फत पर्यवेक्षण गरिरहेका जिल्लाका ११ जना पर्यवेक्षकहरुलाई निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराउनुको साथै आचारसंहिताको पूर्ण पालनाका लागि पर्यवक्षेकहरुलाई निर्देशन समेत दिनुु भएको छ ।

उहाँले भन्नु भयो– ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु पनि भएकोले यसका लागि पर्यवेक्षकहरुको समेत महत्वपूर्ण भुमिका रहने भएकोले निश्पक्ष र स्वतन्त्र भएर पर्यवेक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।
संयोजक जोशी नेतृत्वको अनुगमन टोलीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भइरहेका चुनाविसभा तथा प्रचारप्रसारको समेत अनुगमन गरिरहेको छ ।
इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी नेतृत्वको टोलीले जिल्लामा निर्वाचन आचारसंहिता परिपालनाको अवस्थाको अनुगमन गरेको छ ।

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९, को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको तयारी र जिल्लाको शान्ती सुरक्षाको अवस्थाका बारेमा जोशी नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
प्रदेश संयोजक जोशीको टोलीले कार्तिक २४ गते मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्ले, पर्यवेक्षक र पत्रकारहरुसँग अन्तरक्रिया समेत गरेको छ । इन्सेक प्रदेश संयोजक जोशीले निर्वाचनलार्ई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि पर्यवेक्षक र पत्रकारहरुको महत्वपूर्ण भुमिका भएकाले स्वातन्त्र र निश्पक्ष भएर सामाचार संकलन गर्न र पर्यवेक्षण गर्न हुन आग्रह गर्नु भयो ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले निर्वाचनलाई शन्तिपूर्ण तथा भयरहित वातावरणामा सम्पन्न गर्नका लागि जिल्लामा शान्ति सुरक्षाको व्यवस्थाका साथै निर्वाचनमा खटिने कर्मचारीहरुलाई तालिमको आयोजना समेत गरिएको जानकारी दिनु भयो ।

यसैगरी इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ को प्रर्यवेक्षणका लागि परिचालित हुने प्रर्यवेक्षकहरुका लागि अभिमूखीरण कार्यक्रम कात्तिक २४ गते महेन्द्रनगरमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगबाट अनुमति पाएका संघसंस्था तथा पर्यवेक्षकहरुले निर्वाचनको प्रर्यवेक्षण गर्नुका साथै निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र निर्वाचन पर्यवेक्षण निर्देशिकालाई प्रर्यवेक्षकहरुले पनि पूर्ण रुपले पालना गर्नु पर्ने बताउनु भयो ।
उहाँले निर्वाचनको प्रर्यवेक्षण गर्ने प्रर्यवेक्षकहरुलाई प्रर्यवेक्षण गर्न सहज होस र आचारसंहिता कार्यान्वयनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
सहभागी हरिष बागले आचारसंहिताको पूर्ण पालन गरी निर्वाचन प्रर्यवेक्षण गर्ने र मानव अधिकार उल्लङ्घन तथा निर्वाचन आचारसंहित उल्लङ्घन भएको पाइएमा इन्सेकलाई सूचना सम्प्रेषण गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रर्यवेक्षक को हो ? प्रर्यवेक्षकको दायित्व, जिम्मेवारी, निर्वाचन आयोगले जारी गरेको निर्वाचन प्रर्यवेक्षण निर्देशिका २०७९, निर्वाचन आचारसंहिता, प्रर्यवेक्षण गर्ने संस्थाको जिम्मेवारी र दायित्व विषयमा प्रलेख अधिकृत विश्वकर्माले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी प्रर्यवेक्षकहरुले निर्वाचन आचारसंहिता र निर्वाचन प्रर्यवेक्षण निर्देशिका पूर्ण रुपमा पालना गरी निर्वाचनको प्रर्यवेक्षण गर्ने प्रतिबद्धता गर्नु भयो ।
निर्वाचन प्रर्यवेक्षण अभिमूखीकरण कार्यक्रममा भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, दोधराचाँदनी नगरपालिमा इन्सेकबाट प्रर्यवेक्षण गर्ने प्रर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
