मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कारको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले दाङमा निर्वाचन बहिष्कारका लागि भित्ते लेखन तथा प्रचार प्रसार गरीरहेको छ ।
दाङको घोराही, तुलसीपुरलगायत जिल्लाका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा निर्वाचन बहिष्कारका लागि भित्ते लेखन गरेको छ । मङसिर ४ नो भोट, मङसिर ४ को कथित संसदीय चुनाव खारेज गरौं लगायतका नारा समेटेर भित्ते लेखन गरिएको छ ।
नेकपा तुलसीपुर उपमहानगर कमिटीले उपमहानगरका विभिन्न वडा, टोलमा भित्ते लेखन भइरहेको कमिटीका इन्चार्ज विकासले जानकारी दिनुभयो ।
यसैबिच मङसिर ४ को निर्वाचन बहिष्कार गरौं भन्दै भित्तेलेखन गरिरहेको बेला विप्लव नेतृत्वको नेकपाका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालयले कात्ति २१ गते गिरफ्तार गरी साढे ६ घण्टा हिरासतमा राखेर रिहा गरेको थियो ।
घोराही उपमनपा–१५ डिके पेट्रोलपम्प नजिकैको घरमा मङसिर ४ को निर्वाचन बहिष्कार गरौं भन्दै भित्ते लेखन गरिरहेका बेला विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यहरू घोराही उपमनपा–१६ का २८ वर्षीय पदम चन्द, ३५ वर्षीया अशोका भण्डारी र ३५ वर्षीय रेवत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय दाङले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर ओलीले जानकारी दिनुभयो ।
विप्लव नेतृत्वको नेकपाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको र सोही अनुसार शान्तिपूर्ण प्रचार प्रसार गरिरहेको अवस्थामा धरपकड गरेको नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले बताउनु भयो । शान्तिपूर्णरुपमा विरोध गर्ने कार्यक्रममा धरपकड नगर्न सेक्रेटरी वलीले आग्रह गर्नुभयो ।